‘जनताको जलविद्युत्’को पहिलो सेयर खुल्दै

news

रमेश लम्साल (रासस)

काठमाडौं, चैत १ । ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर बिक्री हुने भएको छ ।

सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो ।

सोही कार्यक्रमको पहिलो आयोजनाकारुपमा त्रिशूली जलविद्युत् कम्पनीको साधारण सेयर बिक्री गर्न लागिएको शुक्रबार प्रकाशित विवरणमा उल्लेख छ ।

कम्पनीकाअनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।

‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत् साधारण सेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो ।

शुक्रबार प्रकाशित विवरणअनुसार सो कम्पनीको सेयर निष्कासन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।

कम्पनीको जारी पुँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अंकित दरका ३७ लाख पाँच हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

अग्रिमरुपमा सेयर बिक्री गर्न लागिएकाले हाल प्रतिसेयर रु १० का दरले न्यूनतम् १०० कित्तादेखि अधिकतम् १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

कुल बिक्री हुने सेयरमध्ये एक लाख ११ हजार १५० कित्ता सेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ ।

सेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिसेयर रु १० का दरले हुन आउने रु तीन करोड ७० लाख ५० हजारमात्र अग्रिम भुक्तानीका लागि आग्रह गरिएको छ ।

उक्त सेयरवापत चुक्ता हुन बाँकी रहने रु ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ । त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ ।

नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ ।

आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ भने कुल लागत निर्माण अवधिको ब्याजसमेत गरी कुल रु ८ अर्ब २२ करोड ७४ लाख रहेको छ ।

सेयर बिक्री गरिएको मितिदेखि ७.९५ वर्षमा साधारण लगानी फिर्ता हुनेछ ।

सो कम्पनीको साधारण सेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल रहेको छ ।

बोर्डले बिहिबारमात्रै जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत्का आयोजनाको सेयर बिक्रीका लागि ‘रेटिङ’ गराउनु नपर्ने व्यवस्था गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमको घोषणा गर्दै सो कार्यक्रमको पहिलो सेयर आफूले लिने बताएका थिए ।

सरकारको तयारीअनुसार कुल स्वपुँजीको ४९ प्रतिशत लगानी नागरिकबाट जुटाउने तयारी गरिएको छ ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत्का आयोजनामा लगानी गर्ने सेयरधनीलाई ब्याजवापतको रकमसमेत उपलब्ध गराउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा बोर्डले धितोपत्र निश्कासन गर्नेसम्बन्धी व्यवस्थालाई थप सहज र सरलसमेत बनाएको छ ।

उच्च प्रतिफल दिने आयोजना छनोट गरेर नागरिकलाई लगानीका लागि आग्रह गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थालेसमेत लगानी गरेका छन् ।

स्थानीय आयोजना प्रभावित र नुवाकोट तथा रसुवाका स्थानीय निकायलेसमेत लगानी गर्ने भएका छन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थालेसमेत सो आयोजनामा ऋण लगानी गरेका छन् ।

कम्पनी र प्राधिकरणबीच २०७४ भदौ ६ गते विद्युत् खरिद सम्झौता भएको थियो ।

आयोजनाले २०७८ फागुन १७ गतेदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने आयोजनाका प्रबन्ध सन्चालक मोहनप्रसाद गौतमले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया