‘विप्लव’माथि प्रतिबन्धः यस्तो छ संवैधानिक व्यवस्था, कानुनविद् के भन्छन् ?

news
फाइल तस्वीर ।

गृष्मा राजभण्डारी र भरत केसी (इमेज)

काठमाडौं, चैत १ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि देशको संविधानबमोजिम राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने तर्क कतिपयले गर्न थालेका छन् ।

कानुनबमोजिम दर्ता भएर सोही मुताविक चल्ने राजनीतिक दललाईमात्र दलको हैसियतमा संविधानले स्वीकार गरेको छ ।

सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दा ‘विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टी नामको समूहद्वारा सन्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने वा सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई आपराधिक तथा विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने निर्णय गरिएको छ’–भनेको छ ।

यो निर्णयमा सरकारले नेकपा विप्लवलाई समूहमात्र मानेको छ । पार्टीकारुपमा स्वीकार गरेको छैन ।

संविधानको धारा १७ को स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत् उपधारा २ को ‘ग’मा राजनीतिक दल खोल्ने स्वतन्त्रता मौलिक हककारुपमा स्वीकार गरिएको छ ।

तर, त्यसको प्रतिबन्धात्मक वाक्यांश ३ मा हिंसात्मककार्य गर्न दुरुत्साहन गर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी कानुन बनाउन सकिने उल्लेख छ ।

यसैगरी, संविधानमा राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने उल्लेख गर्दै धारा २७० मा राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज गरिएको छ । तर, त्यस्तो दल धारा २६९ बमोजिम गठन, दर्ता र सन्चालन भएको हुनुपर्छ ।

यसैगरी, धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम निर्वाचन आयोगमा पनि दर्ता भएको हुनुपर्छ ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलकाअनुसार नेकपा विप्लव समूह निर्वाचन आयोगमा दर्ता हुन आएको छैन ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई भने आस्था र विचारमाथि प्रतिबन्ध लगाउन नहुने बताउँछन् ।

विप्लव समूहको काम–कारबाही संविधानविरुद्ध भएकाले उसलाई कानुनबमोजिम कारबाही हुनुपर्ने तर विचारमाथि प्रतिबन्ध लगाउनु गलत भएको उनको तर्क छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गरेको हाम्रो वर्तमान संविधानले राजनीतिक दल खोल्ने स्वतन्त्रतालाई मौलिक हककारुपमा स्वीकार गरेकाले दलमाथि प्रतिबन्ध लगाउन पाइँदैन । तर, त्यो राजनीतिक दलले संविधानबमोजिमका शर्त पूरा गरेको छ कि छैन, त्यो नै अहं सवाल हो ।

सरकारको आधिकारिक निर्णयमा विप्लव समूहका नाममा सन्चालन हुने गतिविधिमा प्रचलित कानुनबमोजिम कारबाही गरिने भनिएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...