खेलकुद मन्त्रालयको एकवर्षे ‘उपलब्धि’ सार्वजनिक

news

काठमाडौं, चैत ३ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही आर्थिक वर्षभित्र आयोजना गरिने बताएका छन् ।

आफ्नो एकवर्षे कार्यकालका उपलब्धिहरु सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले यही आर्थिक वर्षभित्र आठौं राष्ट्रिय खेलकुद तथा सन् २०१९ भित्र १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने जानकारी दिए ।

दुवै ठूला प्रतियोगिताहरुको मिति तोक्न भने मन्त्री विश्वकर्माले आनाकानी गरे ।

मन्त्री विश्वकर्माको भनाइसँगै चैत अन्तिम साता राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने सम्भावना कमजोर बनेको छ ।

यसअघि, राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चैत अन्तिम साता सो प्रतियोगिता आयोजना गर्न सिफारिस गरेको थियो ।

नेपालगन्जको मुख्य रंगशाला निर्माणको काम सम्पन्न हुनेबित्तिकै प्रतियोगिताको मिति तोकिने मन्त्री विश्वकर्माको भनाइ छ ।

पछिल्लो एक वर्षमा नेपाली खेलकुदले उल्लेखनीय फड्को मारेको दाबी उनले गरे ।

खासगरी भौतिक पूर्वाधार निर्माण र खेलकुद संघहरुको विवाद समाधानमा महत्वपूर्ण सफलता हात पारेको उनको जिकिर छ ।

नेपाली क्रिकेट टोलीको सफलता, एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङतर्फ हासिल गरेको रजतपदक एवं शारीरिक सुगठनतर्फ महेश्वर महर्जनले जितेको स्वर्णपदकलाई मन्त्री विश्वकर्माले आफ्नो कार्यकालको विशेष अन्तर्राष्ट्रिय उपलब्धि मानेका छन् ।

यसैगरी, कराँते महासंघलगायतका विवादित खेलकुद संघका समानान्तर समितिलाई वार्तामा ल्याएर उनले सकारात्मक सुरुआत गरेका छन् ।

मन्त्री विश्वकर्माले यो एक वर्षको अवधिमा खेलकुदमा नीतिगत सुधारको थालनी भएकोसमेत बताए ।

खेलकुदमा संघीय व्यवस्थाअनुसार संरचनागत परिवर्तनको आधार तयार भएको उनको तर्क छ । यसका लागि खेलकुद ऐन परिमार्जन गर्न बनेको विधेयक मन्त्रिपरिषदमा पुगेको छ ।

यसैगरी, राष्ट्रिय खेलकुद परिषदको कर्मचारी व्यवस्थापनसम्बन्धी महत्वपूर्ण कामपनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...