नेत्रविक्रम नेकपाले दियो यस्तो चेतावनी

news
फाइल तस्वीर ।

काठमाडौं, चैत ७ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउँदै सरकारको आलोचना गरेको छ ।

पार्टीका मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीले बिहीबार निकालेको विज्ञप्तिमा सरकार, गृह प्रशासन, गृह प्रशासनअन्तर्गत्का सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजारी, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधलाई संस्थागत गर्न खोजेको आरोप लगाइएको हो ।

आफूहरुले चलाइरहेको विध्वंसात्मक गतिविधिलाई जायज ठहर्‍याउन सरकारले भ्रष्टाचार, कालोबजारी, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधलाई संस्थागत गर्न खोजेको आरोप उनले लगाएका हुन् ।

‘सरकार दलाल पुँजीवादबाट सामाजिक फाँसीवादतर्फ पतन’ भएको उल्लेख गर्दै उनले ‘नेकपाको गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिबन्ध लगाउनु फाँसीवादको भद्दा नमुना हो’ भनेका छन् ।

सो समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीलगायत आफ्ना दर्जनौं नेता–कार्यकर्तालाई गिरफ्तार गरेको र काभ्रेको रोसी गाउँपालिकामा प्रहरीले गोली चलाएको भन्दै विरोध पनि गरिएको छ ।

वक्तव्यमा अहिले प्रहरी तथा कुनैपनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको प्रस्टीकरण पनि दिइएको छ ।

जबकि, रोसी गाउँपालिकाको काफलडाँडा पुगेका प्रहरीमाथि आक्रमण गरेपछि आफूहरुले जवाफमा गोली चलाउनुपरेको प्रहरीले जनाएको थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पक्राउ परेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई शीघ्र रिहा गर्न माग गर्दै रिहा नगरे ‘जनप्रतिरोध’ कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...