हाम्रो भाग्य र भविष्यमा फोहोर गर्ने सत्तापक्ष र विपक्ष

news

-संजिव कार्की 

सरकार मुख चलाउँछ तर हात, खुट्टा चलाउँदैन, दिमाग खियाउदैन । उसै रमाउछ बैंसमा तरुण तरुनी ऐना हेरेर रमाए झैँ  । बोल्नमा डिस्टिङ्गसन् ल्याउन सक्छ, काम र परिणाम सुस्त र धिमा । बल्लबल्ल खुट्टा चलाउँछ तर दौडेर हिड्नु पर्ने सरकार घस्रेर हिडेको छ भन्दा पनि लजाउनु पर्ने स्थिति छ ।

यति फराकिलो र चौडा राजमार्गमा बिना प्रतिस्पर्धा एक्लै हिड्ने दुर्लभ अवसर पाउँदा पनि सरकार एक्लै दौडाए पनि पहिलो भएको छैन भन्नु पर्दा दुःख लाग्छ । सरकार खुट्टा भन्दा हात बढी चलाउँछ, परम्परागत भाषामा भन्दा राज्यको ढुकुटीमा लामो हात गर्न चैं सिपालु छ । नीतिगत भ्रष्टाचार गर्न माहिर छ सरकार । वि.स. २०१६ सालमा बिपी कोइरालाको दुई तिहाईको जनमत प्राप्त सरकार भन्दा पनि यो सरकार बलियो सरकार हो । तत्कालिन सरकारलाई राजाको तरबार घाँटीमा झुन्डिएको थियो तर यो सरकारलाई तरबार त के चोरी औंलो देखाउने शक्ति र सामर्थ्य देशमा विद्यमान कुनै शक्ति र पार्टीमा छैन ।

आवधिक निर्वाचनमा गएर जनताबाट अनुमोदित हुन अझै चार वर्ष सरकारको म्याद छ । त्यो भन्दा अघि सरकार तलमाथि पार्ने फेर्ने, गिराउने ,लडाउने ताकत यदि कसैसंग छ भने स्वयं नेकपासंग छ । अरु कुनै माइकलालसँग त्यो बैधानिक हैसियत छैन । आफ्नै सरकारलाई लडाएर मृत्यु पत्रमा हस्ताक्षर गर्ने ब्लन्डर शायद नेकपा संसद र नेताहरुलाई सह्य हुनेछैन होस् पनि कसरी ? भोली पुनः चुनाव जित्ने ग्यारेन्टी पनि छैन सरकारको यो चालामालाले बरु चुनावमा शर्मानक हारको चैं लगभग सुनिश्चित जस्तै छ ।

तसर्थ सरकारको गेयर चेन्ज गर्नु र सत्तालाई गतिशील बनाउनु नेकपाको पहिलो चुनौती हो । नयाँ कुराको घोषणा गर्न सरकार यति हतारिन्छ मानौं हरेक दिन हरेक नयाँ घोषणा सरकारको श्वास प्रश्वास हो । घोषणाहरुको शृंखलामा अर्को थपियो सुरुंग मार्ग । हरेक पटक जनता प्रधानमन्त्रीको भाषणमा हाँस्न पाइने सुनिश्चितताले उनलाई सुन्ने धैर्यता देखाउछन, जस्तै विपद र दुखद परिस्थितिमा पनि हसाउँन सक्ने प्रधानमन्त्रीको खुबी भने सधै प्रशंसा योग्य छ ।

सरकार गतिशील र प्रगतिशील हुन पार्टीको ब्यबस्थापन अर्को चुनौती हो । पार्टी ब्यबस्थापन र दुई पार्टी एकीकरण तत्कालिन एमाले र माओबादी केन्द्रको टप टू बटम समायोजन, मिलान र पद बिभाजन, कार्य बिभाजन अनि मर्यादा बिभाजन चाहे भातृ संगठनको होस् या माउ पार्टीकै अत्यन्त संबेदनशील कुरा हो । जसको कारण नै पार्टीको गतिमा आजसम्म तेज आउन सकेको छैन । पार्टी काम र सरकारको काममा प्रभावकारी हस्तक्षेप देखिएको छैन । स्थानीय निकाय देखि प्रदेश र केन्द्रसम्म पार्टीको भूमिका करिब करिब सुन्य प्राय छ । लोकतान्त्रिक प्रणालीमा सत्तासीन पार्टी गतिहीन हुनु भनेको देश आज जे छ त्यसको कारण र परिणाम हो । देशको एक मात्र शक्तिशाली पार्टी (गत चुनावको जनमतको आधारमा) जसको आफ्नो पार्टी संरचना देशमा विद्यमान छैन भन्दा अप्ठ्यारो महशुस हुन्छ । पार्टी संरचना नभएको पार्टीले जनतालाई कसरी डेलिभरी दिन सक्छ ? सरकारको प्रतिरक्षाको लागि पार्टी नेता कार्यकर्तालाई प्रधानमन्त्रीले बारम्बार अरिंगाल बनेर जाइलाग्न दिनु परेको निर्देशन आग्रह, अनुरोध पनि यसैको कारण हो ।

प्रतिपक्ष कमजोर भएकै कारण नेकपाले आफै भित्र बलियो प्रतिपक्ष पाएको र त्यसको विचार कहिले माधवकुमार नेपाल मार्फत अनि कहिले भीम रावल मार्फत सशक्त र बुलन्द भएर सार्वजनिक हुन्छ । सरकार संचालन र पार्टी संचालनका तीव्र असतुष्टी र असन्तुलन नेकपा भित्र झाँगिएको रोग हैन, महारोग नै हो भन्दा अब अतियुक्ति नहोला ।

माले, एमाले विभाजनको तुष समेत बाँकी रहेको बेला झन्  अनायासै माओबादी केन्द्र समेत मिसिएर नेकपा बन्दा त्यो भित्रको ब्यबस्थापन कम जटिल र कष्टपूर्ण छैन । ओली ,प्रचण्ड नेतृत्वले यसको उचित निकास दिएर पार्टी ब्यबस्थापनलाई प्राथमिकतामा पारेनन् भने पार्टी पंक्ति विस्फोटनमा जाने खतरा रहन्छ । देखिएको छ संकेतहरु मिल्दैछन् जुन पार्टीको रुपमा नेकपा मात्रैलाई होइन देशलाई नै घाटा हुनेछ ।

अस्थिर, ढुलमुले र सामान्य बहुमतको सरकार औसत सरकार भन्दा भिन्न हुनुपर्ने वर्तमान सरकार, गतिमान र एकदम प्रगतिशील देखिनुपर्ने सरकार अन्यमनस्क, सुस्त अनि दिग्भ्रमित देखिनु राम्रो लक्षण होइन । सपनामा एेठन भएको कुरा निस्कँदा पनि सरकार झस्केर आफुलाई जस नदिएकोमा जनताप्रति आक्रोश पोख्छ र रिसाउछ ।

व्यंग बुझ्न र पचाउन सरकारलाई कति अप्ठेरो र भयानक लागेको कुरा बिबिध घटनाक्रमले पुष्टी गरेका छन् । सरकारलाई काम नगरे पनि जस चाहिएको छ उ अजंगको हुनुको कारण नै जसको भागीदार हुनुपर्ने उसको जिकिर छ । दुई तिहाईको सरकार बनाउनु मात्रै त देशको सफलता होइन , हुन सक्तैन । दुई तिहाईको हाराहारीमा पुग्नु पार्टीको सफलता हो तर देशको होइन ।  देशको सफलता भनेको देशले मुहार फेर्नु हो । जनताको जीवनस्तरमा हिजो र आजमा तात्विक भिन्नता देखिनु हो । सरकारको तर्क सुन्दा लाग्छ उसको लागि समर्थनमा धेरै पार्टी रहनु नै देशको सफलताको सूचक हो ।

सरकार शक्तिशाली हुनु सफलताको परिचायक होइन , प्रभावकारी कार्य संचालन र सुशासन चैं सरकार हुनुको अर्थ हो । सरकार र प्रधानमन्त्रीको सपना सुन्नु नै जनताको भोको पेट भरिनु हो भन्ने सरकारको बुझाई रहेको भान हुन्छ । रेल आइ नसके पनि पानीजहाजको सम्भाव्यता अध्ययन हुनै बाँकी भए पनि सरकार रेल र तेलको जहाजको कार्यालय खोल्नुमा नै उधुम सफलता हासिल गरेको र रेल र पानी जहाज चढ्ने निम्ता बाड्न मस्त छ ।

नानी पाउनु भन्दा कन्दनी बाटेर नै सरकार सपनाको खेतीमा व्यस्त छ । सरकारले कन्दनी बाटेकोमा नै रमाउनु पर्ने कस्तो नियति ? सरकार नाक हराएर बसेको छ । सरकारको इज्जत दिनप्रतिदिन स्खलित बन्दैछ । बिपक्षी होस् हराएर बसेको छ । जनता भाग्य हराएर बस्न मजबुर छन ।

होस् हराएको प्रतिपक्ष

छाँया सरकार र भोली  सरकारको वेटिंग लिस्टमा बसेको पार्टी आजसम्म चुनाव हारेदेखि बौरिन सकेको छैन । दशैंमा चियापानमा सामान्य सक्रियता देखाएर आफु होसमा आएको छनक दिएको प्रतिपक्ष नेपाली कांग्रेस पुनः बेहोसिमै छ । चेत खुलेको जस्तो देखिएको कांग्रेस अर्धचेतमा नै बर्बराएको मात्रै रहेछ । सत्ताबिना कतै चल्न चटपटाउन नसक्नु कांग्रेसको दीर्घ रोग हो । सही समयमा सही उपचार पाउन सकेन भने कांग्रेस शिथिल भएर यसै रोगले मृत्युन्मुख बन्नेछ ।

भूमिकाविहीन भूमिका नै कांग्रेसको आजको परिचय र गुमनामी भएको छ । बन्द, चक्काजाम र तोडफोड नगर्नु मात्रै प्रतिपक्षको धर्म र कर्तब्य भनेर कांग्रेसले बुझेको छ । रचनात्मक प्रतिपक्षी कस्तो हुन्छ ,कस्तो बन्नुपर्छ कांग्रेसले देखाउन जानेंन । जनताको जल्दोबल्दो समस्याप्रति सरकार जति नै कांग्रेसको उदासीनता पनि खेदजनक छ । बिप्लवको पार्टीप्रतिको प्रतिबन्ध अनि सीके राउतसँग सरकारको सम्झौतामा कतै उपस्थिति र भूमिका नदेखिनु कांग्रेस सुध्रीने होइन सिद्दिने संकेत हो । न सत्ताधारीको गतिलो चाल न प्रतिपक्षको सम्भावना न अरु नयाँ पार्टीको बलियो उपस्थिति र परिदृश्य जनता भाग्य हराएको स्थितिमा छन् यतिबेला ।

आवरणमा कम्युनिस्ट आचरणमा छैनन् , नाममा लोकतान्त्रिक कांग्रेस ब्यबहारमा अलोकतान्त्रिक र अव्यवहारिक छ । सम्भावना र आशा अनि आवश्यक सम्झिएका नयाँ र जनताको भविष्य र भाग्यमा बदलाव ल्याउछन कि भन्ने ठानिएका पार्टीहरु फूटमा आफ्नो भविष्य भुल्दैछन । स्यालले दुःख दियो भनेर बाँदरको शरणमा गए जस्तो भएको छ । जनतालाई पार्टी छनौट र सरकार संचालनको जिम्मा दिने परिपाटी । जनताको भाग्य र भविष्य माथि राणाले फोहोर गरे, राजाले फोहोर गरे ति सब हटाएर अब हामी आयौं भनेर आएका पार्टीहरुले पनि पटक–पटक आलोपालो झन्डै तीस बर्ष देखि फोहोर गर्दै आएका छन् ।

जनताको रहर, सपना र भाग्यलाई पटक पटक बलात्कार गर्ने प्रवृति कहिले अन्त्य होला ? अब कसैले कुनै पनि बहानामा नेपाली जनताको भाग्य र भविष्य बनाउन नसक्ने नै हुन त ? पूर्वराजा ज्ञानेन्द्रको भ्रमणमा जनताको सहभागिता र उत्साहपूर्ण आग्रहलाई सरकार र पार्टीहरुले अतिशोयोक्तिपूर्ण नजरले हेरेर मात्रै के हुन्छ ? मठ मन्दिरमा गएर पुजापाठ, धर्म, कर्म , आरति, ध्यान, जप आफ्नो संस्कार र संस्कृति  हुने पूर्वराजाको धार्मिक भ्रमणसँग भौतिकवादीको भैंसी पुजा र मस्जिदमा प्रार्थना अनि होली वाइनको स्वाद बिचमा कुनै साइनो, सपना, राजनीतिक उदेश्य छैन र ?

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...