निर्मला हत्या प्रकरणः निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित

news

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानका क्रममा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डीएसपी अंगुर जिसी आज कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।

फागुन २६ गते जिसीलाई उपस्थित हुन ३५ दिने सूचना अदालतले दिएको थियो । उनी १६ औँ दिन अदालतमा हाजिर भएका हुन् ।

उनको आजैदेखि बयान शुरु भएको छ । जिसीलाई जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले बयान लिइरहेको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

बयानपछि थुनछेक बहस हुने बताइएको छ । निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र प्रहरीले अभियुक्त भनि सार्वजनिक गरेका दीलिपसिंह विष्टका तर्फबाट दाजु खड्गसिंह विष्टले यातना दिएको आरोपमा ८ जना प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

तीमध्ये ६ प्रहरी सुरुमा अदालतमा उपस्थित भएका थिए । तत्कालीन एसपी दिल्लीराज विष्ट भने चैत ५ गतेमात्र अदालतमा उपस्थित भएका थिए ।

विष्टलाई आइतबार प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले दिएको थियो । अदालतले माग गरेको धरौटी  बुझाएर उनी सोमबारै नै छुटेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...