भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

news

नयाँदिल्ली, चैत ११ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिब परिवारलाई वार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।

न्यूनतम् आय योजना (न्याय) कार्यक्रम लागू गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए ।

गरिबीमा रहेकाहरुलाई न्यूनतम् आय सुनिश्चत गर्नका लागि न्यूनतम् आय योजना लागू गरिने अध्यक्ष गान्धीले बताए ।

‘गत पाँच वर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए । विशेषगरी गरिब जनता बढी प्रभावित भए । त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौं’–उनले भने ।

अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम् आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गरे ।

‘अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम् आयका लागि कांग्रेसले सुनिश्चत गर्दछ । बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौं’–उनले भने ।

अहिले घोषणा गरेको योजनाकाबारेमा अध्यक्ष गान्धीले झन्डै एक महिनाअगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गरेका थिए ।

यस योजनाबाट झन्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने कांग्रेस नेताहरुले बताएका छन् । रासस/एएनआई

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...