लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

news
तस्वीरः निरु गौतम/रासस ।

रुपन्देही, चैत १२ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रकारुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एसियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि लुम्बिनीमा सुरु भएको छ ।

नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा सुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बंगलादेश, नेदरल्याण्न्ड्स, इन्डोनेसिया, श्रीलंका, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत् गर्दैछन् ।

सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायतका विषयमा छलफल हुनेछ ।

सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्ध धर्मको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रा. ह्युग मियल, ‘श्रीलंकामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दिगो धार्मिक सहिष्णुता’का विषयमा डा. योगी सिंहनाथलगायतले कार्यपत्र प्रस्तुत् गर्ने कार्यक्रम छ ।

त्यस्तै, सहभोजले शान्ति स्थापनामा खेलेको भूमिका, नेपालको शान्ति र पुनर्मिलनलगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत् हुनेछ ।

बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले बताए ।

यसअघि, सम्मेलनको उद्घाटनसत्रमा बोल्दै विज्ञले बुद्धका उपदेशलाई आत्मसात् गर्नसके संसारबाट सबैखालका द्वन्द्वहरुको अन्त्य गर्न सकिने बताएका छन् ।

त्यसका लागि संसारभरि बुद्धका उपदेशको प्रचार–प्रसार गर्न जरुरी रहेको उनीहरुको भनाइ छ ।

नेपाललगायत दक्षिण एसियाका विभिन्न मुलुकमा लामो समय चलेका द्वन्द्वको समाधान भएको स्मरण गर्दै उनीहरुले दिगो शान्ति स्थापनाका लागि बुद्धशिक्षाको औपचारिक अध्ययन–अध्यापन जरुरी रहेको बताए ।

सो अवसरमा केन्ट युनिभर्सिटी बेलायतका प्रा. डा. मार्क वइन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, कोषका उपाध्यक्ष भिक्षुु मेत्तेयलगायतले बुद्ध धर्म र दर्शनको विविध पक्षमाथि प्रकाश पारे ।

हिन्दु, बुद्ध र इस्लाम धर्मका प्रतिनिधिले संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...