बिजुलीका तार अब भूमिगत

news

दीपक श्रेष्ठ र उत्तम मानन्धर (इमेज)

काठमाडौं, चैत १२ । काठमाडौंको सौन्दर्यलाई नै कुरुप बनाइरहेका अव्यवस्थित तारहरु व्यवस्थित बनाउने काम अगाडि बढाइएको छ ।

अव्यवस्थित तारहरुमध्ये पनि बिजुलीका तारलाई आगामी ३० महिनाभित्र भूमिगत गरिने भएको छ ।

सहरलाई कुरुप बनाइरहेका धेरै कुरामध्येको जथाभावी टाँगिएका तार पनि एक हो ।

जतासुकै लत्रिएका र गुजुल्टिएका तारले काठमाडौंलाई कुरुप बनाइरहेको त छ नै दुर्घटनाको जोखिम पनि बढाइरहेको छ ।

बेला–बेलामा तारमा छोइएर आगोसमेत लाग्ने गरेको पनि छ ।

बीचसडकमा लत्रेका तारका कारण गाडी दुर्घटना हुने जोखिम पनि उत्तिकै छ ।

यस्ता जथाभावी टाँगिएका तारमध्ये बिजुलीका तारको व्यवस्थापनका लागि नेपाली विद्युत् प्राधिकरणले तारहरु भूमिगत गर्न लागेको छ ।

पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत्का बिजुलीका तारलाई भूमिगत गरिनेछ ।

मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित बनाइनेछ ।

वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुईओटा वितरण केन्द्रमा ९० हजारथान आधुनिक मिटर जडान गरिनेछ ।

प्राधिकरणले काठमाडौंका बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यअनुरुप भारतीय कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।

कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, सामान आपूर्ति, जडान र सन्चालन गर्ने आयोजनाका प्रमुख अभिषेक अधिकारीले बताए ।

सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम सुरु गर्ने र कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्ने व्यवस्था गरिएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...