एसइईका परीक्षार्थीलाई ईमेज अवार्ड !

news

काठमाडौं, चैत १२ । देशभर यतिबेला माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहेको छ ।

आइतबार चैत १० गतेदेखि सुरु भएको परीक्षा यही चैत २१ गतेसम्म चल्नेछ ।

यसअघि, कक्षा–१० को पढाइ सकाएपछि लिइने परीक्षालाई एसएलसी भनिन्थ्यो । जसलाई विद्यालय शिक्षाको गेटसम्म मानिन्थ्यो ।

तर, पछिल्लोपटक सरकारले १०+२ अर्थात् ‘प्लस टू’सम्मलाई विद्यालय शिक्षा बनाएपछि भने १० कक्षाका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने गरेका छन् ।

यो परीक्षा उत्तीर्ण गरेपछि विद्यार्थीहरुले प्लस टू अध्ययन गर्न पाउनेछन् । यसका लागि विद्यार्थीले आफ्नै वा अरु कुनै विद्यालयमा प्लस टू अध्ययन गर्न सक्नेछन् ।

यसरी समेटियो प्रश्नपत्रमा ईमेज अवार्ड

परीक्षाको पहिलो दिन देशभरका करिब पाँच लाख विद्यार्थीले अंग्रेजी विषयको परीक्षा दिएका छन् । यसै विषयको प्रश्नपत्रमा यसपटक ईमेज च्यानल पनि जोडिएर आएको छ ।

जसमा ईमेज च्यानलले दुई दशकदेखि आयोजना गर्दै आएको ‘ईमेज अवार्ड’काबारेमा परीक्षार्थीलाई सोधिएको छ । बीसौं ईमेज अवार्ड कार्यक्रमकाबारेमा लेखिएको समाचार र त्यसैसँग सम्बन्धित भएर सोधिएको प्रश्नको उत्तर दिन विद्यार्थीहरुलाई भनिएको थियो ।

प्रश्नपत्र कर्णाली प्रदेशको हो ।

विद्यार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा बीसौं ईमेज अवार्डमा क–कसले कुन–कुन विधामा अवार्ड प्राप्त गरे ? वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई दिइएको लाइफटाइम अचिभमेन्ट अवार्ड, क–कसले कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ? कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको सम्मानलगायतकाबारेमा उल्लेख गरिएको छ ।

अक्टोबर ८ शनिबारको ‘डेटलाइन’मा लेखिएको उक्त समाचारमा ईमेज अवार्ड कार्यक्रम होटल सोल्टी क्राउन प्लाजामा भव्यताका साथ सम्पन्न भएको पनि उल्लेख छ ।

२० वर्षदेखि निरन्तर

सांगीतिक क्षेत्रको एउटा अलग्गै पहिचान स्थापित गर्न सफल ईमेज अवार्ड २० वर्षदेखि लगातार आयोजना हुँदै आएको छ ।

यी हुन् विजेता

गएको असोज २० गते काठमाडौंको होटल सोल्टीमा आयोजित भव्य समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकर्मी प्रकाश गुरुङलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा ऊर्जाको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई लोडसेडिङबाट मुक्त गराउन महत्वपूर्ण भूमिका खेलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दि इयर अवार्ड’ प्रदान गरिएको थियो ।

कार्यक्रममा २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकहरुमध्येबाट १८ वटा विधाका स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो ।

जसमा उत्कृष्ट गीत रचनातर्फको अवार्ड यो ‘ऐना भनाउँदो...’ गीतका रचनाकार आनन्द अधिकारीले पाउँदा सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘हावा घरैमा...’ भन्ने गीतका लागि पूजन लोहागन र अनुपमा प्रधानले पाएका थिए ।

सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘छामी हेरन...’ बोलको गीतका गायक सुवासचन्द्र जोशी र सर्वोत्कृष्ट संगीततर्फको उपाधि ‘जाउँला रेलैमा...’ गीतका संगीतकार कमल खत्रीले पाएका थिए ।

सर्वोत्कृष्ट गीतको अवार्ड पनि कमल खत्रीको ‘जाउँला रेलैमा...’ ले पायो ।

‘नौलाई शून्य’ नब्बे गीतका रुपकुमार राई र मेनुका राईले सर्वोत्कृष्ट गायन दोहोरी गीततर्फको अवार्ड पाउँदा सर्वोत्कृष्ट गायन लोकगीततर्फको अवार्ड ‘दुई रुपैयाँको बिंडी’ गीतकी गायिका सीता थापाले पाएकी थिइन् । 

सर्वोत्कृष्ट लोकगीत संकलकको अवार्ड ‘बोल माया...’ गीतका संकलक प्रकाश सपुतले पाउँदा सर्वोत्कृष्ट दोहोरीगीतको अवार्ड सम्झना भण्डारीको स्वरमा रहेको ‘छिन्छिन् बज्ने चुरा’ले पायो ।

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाकारतर्फ ‘तिमीलाई छुँदै...’ गीतका बुद्ध थापा र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकमा सोही गीतका विकास धमला घोषित हुँदा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘डोन्ट किल मीका...’ निशान घिमिरे घोषित भएका थिए ।

सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा दीपक बज्राचार्यको ‘मन मगन’ले अवार्ड पाउँदा सर्वोत्कृष्ट गायन पुरुषतर्फको अवार्ड ‘जाउ तिमी...’ गीतका कर्मा ग्याल्जेन बोमजन र सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड ‘बन फूल’ गीतकी गायिका दुर्गा परियारले पाएकी थिइन् ।

सर्वोत्कृष्ट पपगायन महिलातर्फको अवार्ड ‘मनचरी गीत’की गायिका श्रेया सोताङ र सर्वोत्कृष्ट पपगायन पुरुषतर्फको अवार्ड दीपक बज्राचार्यले पाउँदा ‘टुबोर्ग पब्लिक च्वाइस अवार्ड’ गायिका टीका प्रसाइँको गीत ‘माया लुकी लुकी’ले पाएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...