कांग्रेसमा कारबाहीको तयारी

news

भीष्मराज ओझा (रासस)

काठमाडौं, चैत १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी हितविपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारबाही गर्ने तयारी थालेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टी हितविपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरीउपरमात्र छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले पार्टी हितविपरीतका गतिविधि पार्टी विधान र नियमावलीबमोजिम अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्न सचेतसमेत गराएको छ ।

संयोजक आङदम्बेले पार्टी कार्यालयमा प्राप्त उजुरीमासमेत छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइने बताए ।

‘यो सुरुआत हो । समितिको काम गर्ने कार्यविधि बनाएर यसअघिको समितिको तथ्यांक पनि अध्ययन गरी काम अघि बढाउछौं’–उनले भने ।

पार्टीको केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।

वि.सं. २०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारबाही गर्न कांग्रेसले यसअघि पनि अनुशासन समिति बनाएको थियो ।

यसअघिको अनुशासन समितिका संयोजक रमेश रिजालले पदबाट राजीनामा दिएपछि सो समिति विघटन भएको थियो । तत्कालीन अनुशासन समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्र पाण्डे र हृदयराम थानी सदस्य थिए ।

पार्टी केन्द्रीय कार्यालयमा ५० जिल्लाबाट करिब ३५० नेता–कार्यकर्ताविरुद्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारबाहीका लागि उजुरी परेको थियो ।

त्यसमध्ये छानबिन गरी करिब २०० जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको र त्यसमध्ये १०० जनालाई स्पष्टीकरण सोधेर जवाफ पनि आइसकेको सो समितिका सदस्यसचिव केशव रिजालले राससलाई जानकारी दिए ।

केन्द्रीय सदस्य एवं समिति सदस्य धनराज गुरुङले कसुरका आधारमा पार्टी हितविपरीतका क्रियाकलापमा संलग्न सदस्यलाई एक वर्षदेखि पाँच वर्षसम्म पार्टीबाट निलम्बन गर्नसक्ने विधानमा व्यवस्था रहेको जानकारी दिए ।

कांग्रेसले २०७४ सालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घातलाई पार्टी पराजयको एक प्रमुख कारण मानेको थियो ।

यद्यपि, कांग्रेसमा तत्कालीन दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको चुनावी गठबन्धनले निर्वाचनमा अनपेक्षित परिणाम भोग्नुपरेको भन्ने मत पनि बलियो रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...