आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न कर्णाली प्रदेशका सांसदहरुको माग

news

काठमाडौं, चैत १२ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले आगामी आर्थिक वर्षको नीति तथा योजना र बजेटमा कर्णाली प्रदेशको विकासलाई प्राथमिकतामा राख्न माग गरेका छन् ।

कर्णाली प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसित सामूहिक भेट गरी यस्तो आग्रह गरेका हुन् ।

विगतका सरकारहरुलेजस्तै वर्तमान सरकारले नीति तथा योजना र बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता नदिएको भन्दै सांसदहरुले समृद्धि कर्णालीसहित हुने कि कर्णालीरहित हुने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

उनीहरुले विगत एक वर्षमा सरकारले कर्णाली प्रदेशलाई हेर्ने परम्परागत दृष्टिमा परिवर्तन नगरेको गुनासो गरेका थिए ।

सांसदहरुको गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले आगामी बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्ने आश्वासन दिएको छलफलमा सहभागी सांसद जनार्दन शर्माले जानकारी दिए ।

संघीय संसदमा प्रतिनिधित्व गर्नेमध्ये २२ जनाको सहभागिता रहेको प्रधानमन्त्रीसँगको छलफलमा सांसदहरुले कर्णाली प्रदेशको विकास निर्माणमा सरकारको ध्यान नपुगेको, जीवनस्तर उकास्नेबारे कार्यक्रम लागू नभएको र शिक्षा, स्वास्थ्यजस्ता विषयमा सरकारले ध्यान नदिएको गुनासो गरेका थिए ।

उनीहरुले सडक पूर्वाधारमा कर्णाली करिडोर, भेरी करिडोर, मदन भण्डारी पूर्वपश्चिम राजमार्ग, राप्ती लोकमार्गलगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, उनीहरुले कर्णाली प्रदेशमा दुई ठूला विमानस्थल बनाउन र राष्ट्रिय प्रसारणलाइन निर्माण गर्न पनि माग गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...