गाउँ पनि हरायो, सहर पनि सुस्तायो

news

हरिविनोद अधिकारी

विद्यालयमा विद्यार्थीहरुलाई निबन्ध लेख्न लगाइन्थ्यो र निबन्ध लेख्दा भनिन्थ्यो— नेपाल गाउँ नै गाउँको देश हो । यहाँका गाउँको विकास भयो भने नेपालको विकास स्वतः हुन्छ । नेपालका करिब ८३ प्रतिशत मानिसहरु गाउँमा बस्छन् र खेती गर्छन् । त्यसैले नेपालको मुख्य पेसा कृषि हो । अनि हामी अभिभावकको पेसा आरामसँग कृषि या खेती भनेर लेख्थ्यौँ । अहिले अरु पेसामा प्रवेश गरेर निवृत्त हुँदा पनि कतै फाराम भर्दा पेसामा खेती नै लेखौँ–लेखौँजस्तो लाग्छ किनभने खेतीसँग त्यति तादात्म्यता छ सानैदेखि । अनि के कुरामा एकात्मकता देखिन्थ्यो भने गाउँमा खेती गरिन्छ, बस्तुभाउ पालिन्छ, दहीदूध खाइन्छ, मोही पारिन्छ र घिउ खाइन्छ, घिउ बनाएर पठाइन्छ । यो हिजोको विम्व हो । हिजोको गाउँको विम्व हो । गाउँ भनेको विकास नभएको रैथाने ठाउँ हो जहाँ सम्पूर्ण सँस्कृतिको भण्डार छ र प्रयोग भइरहेको हुन्छ अनवरत निरन्तर । 

गाउँ र सहर । गाउँ  र सहरका बिचको सम्बन्ध कस्तो हुन्छ हाम्रो जस्तो देशमा ? कस्तो हुनुपर्छ ? 

गाउँ अविकसितमात्र हो, असभ्य ठाउँ होइन । सम्पूर्ण संस्कृतिको जहाँ अभ्यास हुन्छ, अझ नेपालको गाउँमा त वैदिक संस्कृति, किराँत संस्कृति, इस्लाम संस्कृति र बौद्ध संस्कृतिको निर्वाध अभ्यास भइरहेको अवस्था अहिले पनि छ । वैदिक, किराँत र बौद्ध संस्कृतिको त उदय नै यहीँ भएकोले भयो रे, तर इस्लाम संस्कृतिले नेपालको गाउँ गाउँमा पनि जरो गाडेको छ । खासगरी पश्चिमाञ्चल क्षेत्रका कतिपय जिल्लाका दुर्गम गाउँमा समेत इस्लामधर्मीहरु हिन्दू धर्मी र बौद्ध धर्मीहरुसँगैै कुममा कुम जुधाएर सहजताका साथ आफ्नो आफ्नो धर्मको निर्वाध निर्वाह गरिरहेको पाइन्छ । अब त इस्लाम धर्मले पनि नेपाली रैथाने धर्मको रुपमा आफूलाई चिनाउन थालेको छ । उनीहरु नेपाली बोल्छन् मात्र होइन, नेपाली वनमा रनघन लोकभाकामा गीत गाउँदै नेपाली महालोकगायक भएर लोक संस्कृतिको जगेर्ना गर्न थालेका छन् । महान लोकगायक रफिक मियाँले कास्कीलाई आफ्नो थातथलो बनाएर नेपाली लोकभाकालाई परिष्कृत र विकास गर्नु भएको थियो । त्यस्ता धेरै उदाहरण पाइन्छ । 

अनि सहर ? सहर भनेको त हाम्रो जेहेनमा के परेको थियो भने त्यो त विकसित ठाउँ हो, सबैकुरा सहजताका साथ प्राप्त हुन्छ । त्यहाँका मानिसहरु राम्रो लगाउँछन्, मिठो खान्छन् अनि सभ्य हुन्छन् । फोहोर गर्दैनन् । राती पनि दिउँसोझैँ उज्यालो हुन्छ । कतै चोर लाग्दैन, सुरक्षाको राम्रो प्रवन्ध हुन्छ । हिजोको त्यो मिथकमा अब धेरै परिवर्तन आइसकेको छैन र ? नेपाली सहरको वातावरणीय समस्या त अझ गाउँमा अझै आएको छैन तर गाउँलाई कृत्रिमरुपमा सहरीकरण गर्न थालेपछि सहरका नराम्रा पक्षहरु गाउँमा पनि देखिन थालेका छन् । 

सहर भनेको नगर हो । विकासका लागि र शासन प्रक्रियालाई सहज बनाउनका लागि अहिले स्थानीयरुपमा गाउँ पालिका र नगर पालिका भनेर स्थानीय सरकारको नाम राखिएको छ । अब हिजोजस्तो बिजुली सहरमा मात्र छैन, गाउँमा पनि बल्न थालेको पाइन्छ । तर सहरको स्वरुप हिजो कल्पना गरेजस्तै छ त ? गाउँ र नगरमा अब के भिन्नता छ होला त ? 

यो एउटा नयाँ बहसको विषय यसकारणले पनि उब्जेको छ कि अहिले हाम्रो देशमा गाउँपालिका र नगरपालिकाको संख्यामा खासै अन्तर देखिँदैन । उस्तै उस्तै संख्यामा गाउँ र नगर सरकार बनेका छन् । बाँदर पनि लडेर मर्ने भीर र पाखालाई नगरपालिका घोषणा गरिएको छ र एउटा सिंहदरबार व्यवस्थित गर्न नसकेको यथार्थतालाई बिर्सिँदै ७५३ओटा सिंहदरबारको सपना बाँडिएको छ विपनामा नै । 

तीन तहका सरकार छन् । स्थानीय सरकार ७५३ ओटा छन् । प्रादेशिक सरकार ७ ओटा छन् । संघीय सरकार एउटा छ र पनि सबैको साँचो उसैको हातमा छ । तालाचाबी उसैको हातमा छ । गाउँ र सहरका बिचको फरक शब्दमा मात्र छ तर व्यवहारमा गाउँ गाउँ नै छ र सहर बरु विना सुविधाको सहर बनेको छ  । न गाउँ गाउँ जस्तो रहेको छ, न त सहर सहर जस्तो हुन सकेको छ । 

गाउँ भनेको निस्छल व्यक्तिहरुको बसोबास हुने ठाउँ हो, सांस्कृतिक धरोहरको नमुना बस्ती हो र शुद्ध खानपानको स्वर्गीय थलो हो । बस्तु पाल्ने, गोबरको अत्यधिक प्रयोग गरेर स्वस्थ खाद्यान्न भित्र्याउने थलो हो । सबै मानिसहरु एकअर्काका सुख दुःखमा साथ दिने गाउँको विशेषता हो । मर्दा र पर्दा जहिले पनि साथ दिने संस्कृति गाउँमा हुनुपर्छ भन्ने मान्यता हामी नेपालीहरुमा छँदैछ । अहिले के यस्तै छ त नेपाली गाउँहरु ? गाउँले बानी त्यस्तै छ त ? कसैकी छोरीलाई घर पठाउँदा सानो सूचनामा पाथीका पाथी गाई र भैँसीको दूध ल्याएर कुराउनी पकाउने संस्कृति, कसैका घरमा बिहे बटुल पर्दा वा श्राद्ध पर्दा केराका घरीका घरी ल्याइदिने गाउँले संस्कृति अब गाउँमा छ त ? अझ भनौँ गाउँमा कृषि उत्पादनबाट जीविका चलाउने र एकअर्कामा ऐँचोपैँचो लिने दिने संस्कृति बाँकी छ त ? 

युवाहरु गाउँ छोडेर विदेश पलायन भएका छन् पैसा कमाउन । अनि पैसा आउने आशमा लास आउन थालेको सत्य आफ्नै ठाउँमा छ । काम गर्न सक्ने जनशक्ति गाउँमा छैन । कि त भर्खर बिहे गरेका युवतीहरुमात्र गाउँमा छन्, या त किशोर किशोरीहरु या वृद्धवृद्धाहरुमात्र गाउँमा छन् । विदेश गएका विवाहित युवाहरु जब घर आउँछन् फर्केर केही वर्षमा, न पत्नी सखल्ल फेला पर्छन्, न त पठाएको सम्पत्ति नै भन्ने अनुसन्धानले देखाएको छ धेरैजसो । विम्बको मात्र कुरा हो तर सत्य त्यसको धेरै नजिक छ । कुनै विशेष नमुनालाई यहाँ सामान्यीकरण गर्न त खोजेको होइन तर स्थिति भयावह देखिन्छ । गाउँ गाउँ जस्तो नै रहेन अब । सहर पनि सहर जस्तो हुन सकेन अचेल । 

एकातिर युवाविहीन गाउँ छ, अर्कोतिर नेपालको राजनीतिले कोल्टे फेरेको अवस्था छ । स्वायत्त स्थानीय सरकार छ सुविधाविहीन । अधिकारको बोझले संविधानले लच्केको छ तर स्थानीय तहमा श्रोत र साधन छैन । गाउँलाई, भीर पाखालाई नगर घोषणा गरिएको छ तर नगरमा हुने सुविधा न त महानगरमा नै छ, न त उपमहानगरमा नै पाइन्छ । अनि बलजफ्ती गाउँलाई सहर बनाउँदैमा कसरी सुविधा र सम्पन्नता गाउँका भीरपाखामा पुग्यो होला ? तर बानी बेहोरा सहरको जस्तो भएको छ । ग्याँसमा खाना पाक्छ, बोइलर कुखुराको मासुले पसलहरु सोभायमान छन् । 

आजभन्दा २५ वर्ष अघिको नेपाल छैन । गाउँ सबै सहर भएका छन् । तर सहरका सुविधा भनेको केही पनि छैन । बिजुलीका तार त पुगेका छन् तर बिजुली नियमित हुन सकेको छैन । मोबाइल त घरघरमा पुगेका छन् तर इन्टरनेटको सुविधा र पहुँचको विस्तार सहज छैन । डिस एन्टेना घरघरमा झुन्डिएको छ र बिजुलीको सहजता नहुँदा घरमा देखाउनमात्र राखेको जस्तो भएको छ । विकासका नाममा बाटो जताततै खनिएको छ तर त्यसको सुव्यवस्था हुन सकेको छैन । भत्काउने होड छ, बनाउने होड छैन । इमान जमान हराएको गाउँ कस्तो होला ? मदिराको राज भएको गाउँ कस्तो होला ? 

झन भूकम्पको झड्काले तहस नहस भएको चौथाइ नेपालमा अब कंक्रिटको जंगल तयार भएको छ । मनपरी छ । 

गाउँ र सहरको कथा सारसलाई थालमा झोलिलो पदार्थ पस्केझैँ भएको देखिन्छ । गाउँको अवस्था न हाँसको जस्तो छ, न कुखुराको जस्तो छ । तर गाउँको बानी बेहोरा सहरको जस्तो भएको छ । गाउँमा तरकारी लगाउने, कुखुरा पाल्ने, खसी बोका पाल्ने, रुख पालेर दाउराको उर्जाको व्यवस्था हराएको छ । बस्तु पाल्ने संस्कृति हराउन थालेको छ किनभने खोइ घाँस उत्पादन गर्ने ठाउँ अनि उत्पादन गर्ने जनशक्ति ? अझ भनौं, खोइ सार्वजनिक ठाउँ जहाँ गाउँले आफूलाई भर गरोस् दौडन, कुद्न र मेला, हाट लगाउन ? 

न त गाउँ अब गाउँ जस्तै रहन सक्यो, न सहर अब सहरजस्तै बन्न सक्यो । अनायास र अचानक गाउँलाई सहर बनाउँदा हुने विकृतिले आफ्नो प्रभाव देखाउन भने थाल्यो र त गाउँजस्तो पनि रहेन गाउँ, अनि सहर पनि सहर जस्तो हुन सकेन । 

एक त मुलुकलाई सांस्कृतिकरुपमा एकताबद्ध राख्न पनि पुरानो संस्कृतिको जगेर्ना जरुरी छ । अहिलेसम्म त्यसको जगेर्ना गाउँले गरिरहेको छ । सातसमुद्र पारि गएकाहरु पनि जातीय प्रचलन अनुसारको प्रारम्भिक सांस्कृतिक प्रक्रिया पूरा गर्न गाउँमै जाने गर्छन् । जस्तै, छेओर गर्न, ब्रतबन्ध गर्न, अझ विवाह गर्न पनि । गुन्युचोलो गर्न पनि । गाउँको समवेदना र सहरको समवेदनामा फरक छ रे भन्छन् पुराना गाउँबासीहरु । गाउँमा अपनत्वको संस्कार छ, एकअर्काप्रतिको माया प्रेमको अपनत्वको स्वाद छ । 

अब आफैँसँग आफैँले अर्थात् गाउँले र सहरवालाले जोडदारसँग माग राख्ने बेला भएको छ— हामी गाउँलेलाई ,गाउँलाई गाउँजस्तै रहन देऊ । गाउँले नै रहन देऊ । सहरलाई सहरजस्तो बनाउन कोसिस गर । बनेका सहरलाई पानी देऊ, चिल्लो बाटो देऊ, ढलको व्यवस्था गर । गाउँलाई पनि मान्छेलाई आवश्यक पर्ने पूर्वाधारको व्यवस्था गर । गाउँलाई पुरानै गाउँको सभ्यताबाट टाढा नपु¥याऊ । गाउँले गाउँले नै भएर बाँच्न चाहन्छन् र सभ्य र सुसंस्कृत गाउँले नेपाली भएर मर्न चाहन्छन् आफ्नो शुद्ध गाउँमा । गाउँको परिष्कार रुपमा सहर हैन कि सहरलाई सुविधाजनक र मानवीय बनाउनु पर्नेछ । गाउँले गाउँजस्तै रहन पाउनु पर्छ र सहरले गाउँको पनि सेवा गर्न पाउनु पर्छ । गाउँले सहरको पनि सेवा गर्न पाउनु पर्छ र सहरले गाउँको सेवा सहरमै गरे पनि हुने बेला भएको छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...