सिंगापुर वार्ता विश्व इतिहासकै लागि महत्वपूर्ण उपलब्धि, किम चलाख नेता : ट्रम्प

news

काठमाडौं, जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग गरेको संयुक्त सहमति प्रत्यक्ष र उपलब्धिमूलक भएको बताएका छन् ।

मंगलबार सिंगापुरमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले विश्व इतिहासका लागि सिंगापुर वार्ताको उपलब्धि महत्वपूर्ण भएको जिकिर गरे ।

उनले युद्धको खेल रोक्ने भन्दै किमले मिसाइल परीक्षणस्थल नस्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी पनि दिए ।

उनले उत्तर कोरिया पूर्णनिःशस्त्रीकरणतर्फ अघि बढेको विश्वस्त भएपछि दक्षिण कोरियाबाट अमेरिकी सेना फिर्ता गरिने बताए ।

ट्रम्पले दक्षिण कोरियामा रहेको आफ्नो सैन्य क्षमता घटाउने र संयुक्त सैन्य अभ्यास पनि बन्द गरिने बताए ।

उत्तर कोरियाले आणविक अस्त्र निस्तेज पारेपछि उविरुद्धको नाकाबन्दी हटाइने भएपनि अहिले भने कायमै रहेको ट्रम्पले प्रस्ट पारे ।

कोरियाली प्रायद्वीपको पूर्णनिःशस्त्रीकरणका लागि उत्तर कोरियाली नेता किमले प्रतिबद्धता व्यक्त गरेको पनि ट्रम्पले जानकारी दिए ।

वार्ताकाक्रममा उत्तर कोरियामा मानवअधिकारको स्थितिकाबारेमा संक्षिप्त कुरा भएको ट्रम्पले बताए ।

ट्रम्पले उत्तर कोरियाली शासक किम ‘चलाख नेता’ भएको भन्दै २६ वर्षमा सत्तामा आएका उनले देशका लागि धेरै गर्न बाँकी रहेको बताए ।

उत्तर कोरियाली नेता किमलाई ‘ह्वाइटहाउस’ भ्रमणको निम्ता दिँदै ट्रम्पले उपयुक्त समयमा प्योङयाङ भ्रमण गर्ने जानकारी पनि दिए । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया