गुफामा थुनिएका बाँकी बालकको उद्धार शुरु

news

थाइल्याण्ड, असार २५ । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार बिहानैबाट सुरु भएको छ । 

दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चार जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धाको कार्य अति कठिन भएकोले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो ।

सोमबार पनि उद्धार कार्य स्थानीय समय अनुसार बिहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुले पानीका कारण यो कार्य हिजोजस्तो सहज नहुने देखिएको पनि बताएका छन् ।

उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा दुई वटा एम्बुलेन्स राखिएको छ ।

उद्धार गरी निकालिने बालकलाई एम्बुलेन्समा राखेर तुरुन्तै अस्पताल लगिने जनाइएको छ । आइतबार उद्धार गरी निकालिएका चार जनालाई पनि अस्पतालमा राखिएको छ ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफाको वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । 

थाइ उद्धार अधिकारीहरुले दिएको जानकारीअनुसार उद्धार कार्यमा करिब एक हजार जना व्यक्ति परिचालन गरिएको छ । 

यसमा प्राकृतिक प्रकोपका समयमा मानिसलाई उद्धार गर्न सक्ने विशेष क्षमता भएका विशेषज्ञ टोली र चिकित्सकहरु पनि छन् । (रासस÷एएफपी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया