नयाँ बर्षको मेरो नयाँ डायरी

news

-युवराज गौतम

लेख्नलाई कुनै योजना चाहिन्न । विषयबस्तुको चयन चाहीं हुनुपर्छ । मन र मस्तिष्क खर्च गरेपछि लेखनको गहनतामा बृद्धि हुन्छ । वि.स. २०५९ तिर कक्षा आठमा पढदा सरहरुले कक्षामा दैनिकी लेख्ने सल्लाह दिनुहुन्थ्यो । सरहरुको सल्लाह बमोजिम सुत्नुअघि दैनिकी लेख्ने क्रम सुरु भयो तर कालान्तरसम्म निरन्तरता दिन सकिएन । दिन विराउँदै दैनिकी लेखिन्थ्यो । त्यही दैनिकी लेखनको सफलता २०६१ मा आएर देखियो । इलाम जिल्लाको एक साप्ताहिक पत्रिकामा मेरो छोटो लेख छापियो । मेरो दैनिकीलाई शब्दमा उनेर आफैंलाई मिठासपूर्ण लाग्ने लेख थियो त्यो । छापिंदा खुशीले म आकाशै छोएजस्तो भएको थियो । त्यसपछि त लेखनको लतै लाग्यो । सुरुमा लेख्नुको अर्थ नबुझी लेखें । अहिले धेरथोर अर्थ बुझेर लेख्छु ।

मेरो लागि लेख्नु भनेको कुनै न कुनै नयाँ कुरा देख्नु हो । आफ्नो कुराहरु बाँडनु हो । लेखाइका विभिन्न परिकारहरु छन् । जुन परिकारको लेखे पनि हुने रहेछ । केवल एउटा पुस्तक मात्र लेखेर राधा पौडेल अनि केवल निबन्ध मात्र लेखेर युवराज नयाँघरे मदन पुरस्कार जित्दै नेपालको एक वरिष्ठ एवं चर्चित निबन्धकार बन्न पुगे । राधा चर्चित सामाजिक अभियन्ता कहलिइन । नयाँघरेको निबन्ध संग्रह ‘एक हातको ताली’ को विक्री लोभलाग्दो छ । राधा र नयाँघरेजस्तो लेखक बन्न गाह्रो होला तर पनि लेख्नुचाँही पर्छ । लेखक बन्नको लागि नभए पनि सबैले लेख्नै पर्ने चाँही डायरी लेखन हो । एकजना लेखक तथा शिक्षक विवेक विनयीले डायरी लेखनकावारे एउटा लेखमार्फत प्रष्टाएपछि मलाई थप उत्साह मिलेको छ । यस वर्षको सुरुवात अर्थात नयाँ बर्षदेखि डायरी अर्थात दैनिकी लेखनमा केन्द्रित हुनेछ ।

संसारमा अधिकांश सफल हुने व्यक्तिहरुले सदैव डायरी लेखेको प्रमाण छ्यापछ्याप्ती छन् । एन्ना फ्रयांकको घट्ना घतलाग्दो छ । दोस्रोे विश्व युद्धको वेला धर्मको कारण हिटलरका सिपाईहरुको निशाना बन्यो एन्नाको परिवार । १५ वर्षकी  किशोरी बन्दुकको नालबाट बच्न परिवारसँगै ठाउँ ठाउँमा लुक्दै हिंडिन । अध्यारो कुनाकाप्चामा डरले गुम्सिएर बस्नु पर्‍यो उनले । अत्यन्तै कठिन समयमा एन्नाले आफ्नो अनुभव बटुलेर डायरी लेख्न थालिन । भयमय जीवनलाई एन्नाले डायरीको पानाभरी पोतिन । १६ वर्षको कलिलो उमेरमा उनको हृदय विदारक हत्या भयो । कसोकसो बचेका बुबाले उनको डायरी प्रकाशन गरिदिए । आज संसारभर उनको ‘द डायरी अफ योङ गर्ल’ लोकप्रिय भएको छ ।

डायरीको एक कुनामा उनले भनेकी छन् –‘मैले कैले नदेखेको मान्छेको लागि पनि म उपयोगी र आनन्द ल्याउन चाहन्छु ।  भगवानप्रति म कृतज्ञ छु किन भने उहाँले मलाई लेखन उपहार दिनुभएको छ जसलाई म आफुलाई विकसित गराउन र म भित्र भएको सबै कुराहरु वाहिर ल्याउन प्रयोग गर्नुसक्छु । लेख्दा म पूर्ण स्वतन्त्र हुन्छु । मेरा दुख हराउँछन । मेरो आत्मा पुर्नताजकी हुन्छ ।’ २० औं शताब्दिका एकजना महान साहित्यकार भर्जीनिया उल्फले पनि प्रशस्तै डायरी लेखेकी छिन् । आफ्नो १५ औं जन्मदिनको पूर्व सन्ध्यबाट डायरी लेखन यात्रासुरु गरेकी उल्फले लगभग जीवनभर निरन्तर डायरी लेखीरहीन । उनका थुप्रै डायरीहरु प्रकाशित भएका छन् । जीवनका अनेकौं अरोह–अवरोहलाई डायरीमा समेटेकी उल्फको साहित्यिक सफलतामा डायरी लेखनको महत्वपूर्ण हात रहेको विश्लेषकहरु बताउँछन् ।

सन् १८९७ जुलाईमा उनको प्यारी वहिनी स्टेलाको मृत्यु भयो । त्यही वर्ष १४ सेप्टेम्बरमा उनले डायरीमा लेखिन– ‘हामीहरु प्रत्येक वर्षलाई अन्त्यसम्म पछ्याउँछौं । डायरीहरु लेख्छौं र कुनामा थुपार्छाैं । त्यहाँ कति धुलो लाग्छ, हिलो लाग्छ किराहरु घस्रिन्छन, खान्छन र तहस नहसन पार्छन... ।’ यस हरफमा उनको निराशा देख्न सकिन्छ । तर जे भएपनि उनको लेखन टुटेन । उनी डायरीहरुबाट हामीले धेरै कुराहरु सिक्न सक्छौ । वास्तवमा उनकै डायरी आफ्नो जीवनको प्रतिविम्व बनेको छ ।

त्यसैगरी डायरी लेखनमा अर्का चर्चित व्यक्ति हुन अमेरिकाको ३३ औं राष्ट्रपती एवं प्रसिद्ध राजनीतिज्ञ ह्यारी एस ट्रौमन । प्रथम विश्व युद्धको वेला उनी आर्टिलरी अफिसर थिए । युद्धमा उनले राम्रो अनुभव बटुलेका छन । ह्यारीले आर्टिलरी अफिसरबाट आफुलाई क्रमश उठाउँदै अन्ततः अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति बन्न सफल भए । उनको यो कठिन संघर्षपूर्ण क्षणलाई उनले आफ्नो डायरीमा समेटेका छन् । युद्धताका ह्यारीले आफ्नो देशले अविष्कार गरेको वमको सन्दर्भमा डायरीमा लेखे– विश्वको इतिहाँसमा हामीले अत्यन्तै शक्तिशाली वम आविष्कार गरेका छौं... । अरु पनि थुप्रै उदाहरण छन् जसले निरन्तर डायरी लेखेर जीवनलाई सफलिभूत बनाएका छन् ।

डायरी लेख्नुको ठूलो अर्थ छ । माथिका उदाहरणबाट हामीले यसको महत्व बुझ्यौं । डायरी दैनिक अथवा साप्ताहीक रुपमा लेख्न सकिन्छ । आज संसारभर मानिसहरु विभिन्न कारण विहानदेखि वेलुकीसम्म दौडमा हुन्छन । मन अशान्त छ । पूरा हुन नसकेका चाहनाका थाकहरु मनमा असरल्ह छरिएका छन् । तिनले रातोदिन   पिरोल्छ । भन्न कसैलाई सकिन्न । पोख्ने ठाउँ हुन्न । त्यस्ता कुरा डायरीमा पोख्न सकिन्छ । आफ्ना सारा खुशी–दुख त्यसमा लेख्नुपर्छ । यसले मन आनन्दित तुल्याउँछ ।

जब मनका साराकुराहरु वाहिर आउँछ तब त्यहाँ अपूर्व शान्ति वर्षिन थाल्छ र जिन्दगीको राजमार्ग बन्द भएपनि नयाँ गोरेटो अवश्य खुल्न थाल्छ । माथि प्रस्तुत सबैले आफ्ना सारा पीडा अक्षर मार्फत पोखे । डायरी लेखनले थेरापीको काम गर्छ । अर्काे कुरा लेखनले आफ्नो बारेमा जान्ने मौका दिन्छ । अक्सर हामीलाई आफुसित भएको अनमोल खजनाको बारे थाहै हुन्न । लेख्दै जाँदा भोलि महान लेखक पनि बन्न सकिन्छ । इतिहास हेर्दा विश्वका सबै महान लेखकहरुले आफु महान बनौं भनेर कहिल्यै लेखेनन वरु लेख्दै जाँदा महान बने ।

त्यस्तैगरी आफ्नो व्यक्तिगत डायरीमा आफ्नो लक्ष्य र गर्नुपर्ने कार्यको सुची तयार गरी राख्नुपर्छ । प्रसिद्ध र प्रेरणदायी भनाईहरु पनि समेट्नुपर्छ । त्यसमा साप्ताहिक रुपमा आफ्नो प्रगतिहरु लेख्दै जानुपर्छ । अनि त्यो डायरीलाई सँधै सिरानीमुनी राख्नुपर्छ । जब–जब आफु निराश भइन्छ अथवा अफठ्यारोमा परिन्छ  र आफ्नो लक्ष्यबाट मोडिएर टाढा जान खोजिन्छ त्यसवेला आफ्नो डायरी पल्टाएर हेर्ने गर्नुपर्छ । यसले आफुले गर्नुपर्ने कर्तव्यलाई वोध गराउँछ । आफुलाई धेरैहदसम्म दिशानिर्देश गर्छ ।

अनि हामी जीन्दगीको दुर्घटनाबाट जोगिएर सफलताको शिखर चड्ने छौं । डायरीमा नयाँ सिर्जनाले भर्नुपर्छ । दैनिक अनुभव कोर्नुपर्छ । डायरी लेख्न नयाँ बर्षको सुरुवातबाट नै संकल्प गरौं । डायरीका दुइचार अक्षरले जीन्दगीलाई ठूलो डढेलोबाट वचाएर वसन्तऋतुले हराभरा एउटा सुनौले जीवन दिनसक्छ । त्यसैले डायरी लेखौं । मन जस्तो भाव, अनुभुती हुन्छ दुरुस्तै डायरीमा उतरौं । तपाई–हामीले लेखेको डायरी कतै गहन साहित्यिक कृती पो बन्छ की ? त्यही कृति तपाईको जीवनको अमूल्य इतिहास पो बन्छ कि ? त्यसैले नयाँ बर्षदेखि थालौं नयाँ डायरी । 

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...