हैदरावादलाई हराउँदै दिल्ली आईपीएल क्रिकेटको दोस्रो स्थानमा उक्लियो

news

काठमाडौं । सनराईजर्स हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत हिजो भएको खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेको टोली दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गर्‍यो । यो खेलमा सन्दिपले भने खेलेका थिएनन् ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा दिल्लीले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय १६ रनमै समेटियो ।

हैदरावादका डेभिड वार्नरले ५१ रनको अर्धशतकीय इनिङस खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ दिल्लीका कागिसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले श्रेयस ऐयरको ४५ रन तथा कोलिन मुन्रोको ४० रनको मद्दतले १ सय ५५ रन बनाएको थियो ।

हिजै भएको अर्को खेलमा चेन्नाई सुपर किङ्ग्सले कोलकाता नाईटराईडर्सलाई ५ विकेटले हरायो ।

कोलकाताको इडन गार्डेनमा घरेलु टोलीले दिएको १ सय ६२ रनको लक्ष्य पाहुना टोली चेन्नाईले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।

चेन्नाईको जितमा सुरेश रैनाको अविजित ५८ रन महत्वपूर्ण रह्यो

गएरातिका खेलहरुपछि आईपीएल क्रिकेटको अंक तालिकामा ८ खेलबाट १४ अंक जोडेको चेन्नाई शीर्ष स्थानमा छ ।

समान खेलबाट १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । ८–८ अंक जोडेका कोलकाता, मुम्बई र पञ्जाव क्रमशः तेस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् ।

छैटौं स्थानको हैदरावादको ६ अंक छ भने ४ अंक जोडेको राजस्थान सातौं स्थानमा छ ।

एक खेल मात्रै जोडेको रोयल च्यालेन्जर्स बैग्लोर २ अंकको साथ तालिकाको पुछारमा रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...