पुग्नैपर्ने पानीटारको चियाबारीः कन्याम र इलाम भन्दा बेग्लै सुन्दरता(भिडियो)

news

-प्रकाश नेपाल/ईमेज

इलाम । चियाबगानका लागि प्रसिद्ध इलामले पर्यटकलाई आकर्षित गर्न सफल भएको छ ।

कन्याम र इलाम बजार नजिकका चियाबगान चर्चामा रहे पनि यी वाहेकका कतिपय सुन्दर चियाबारीको भने प्रचार–प्रसार हुन सकेको छैन ।

इलाम चियाबारीले भरिपूर्ण उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।

चियाबारी हेर्न भनेर इलाम पुग्नेहरु  कन्याम र इलाम बजार नजिकका चियाबारीमा मात्र पुग्छन् तर देउमाई नगरपालिकाका थुम्काथुम्कामा मौलाएको चियाबारी हेर्ने सौभाग्य भने धेरैले पाएका छैनन् ।

शान्त र सौन्दर्यका हिसाबले पनि जिल्लाकै उत्कृष्टमध्येमा पर्ने यस चियाबारीको रमणीयता बुझ्न वर्णन गरेर पुग्दैन आफैँले महसुस नै गर्नुपर्छ । पानीटारसँग परिचितहरु मात्र यस क्षेत्रमा जाने गरेका छन् ।

इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थित पानीटार चियाबगानमा  साढे चारसय रोपनीमा फैलिएको देउमाई नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष दावा तामाङ बताउँछन् ।

चियाबगानका अलावा पहाडको मनोरम दृश्यावलोकन, मन्दिर, खेलमैदान लगायतले पर्यटकको मन लोभ्याउने गरेको छ ।

पर्यटन विकासको प्रबल सम्भावना रहे पनि प्रचारप्रसार हुन नसकेको यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीयले पहल सुरु गरेका छन् ।

बर्षेनी आगन्तुकको संख्या थपिँदै जान थालेपछि होमस्टे पनि संचालनमा ल्याइएको छ ।

प्राकृृतिक सौन्दर्य भरिएको मात्र नभई यहाँ विभिन्न किसिमका सांस्कृतिक विविधिता पनि देख्न सकिन्छ ।

यस ठाउँबाट सिदिथुम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी लगायतका पर्यटकीय क्षेत्र पनि नजिकै छन् ।

यस क्षेत्रका सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्ने स्थानीयको आँकलन छ ।

पानीटारको चियाबारीभित्र आराम गर्ने रमाइलो गर्ने ठाउँ निर्माण गरिएको छ ।

असोजदेखि वैशाखसम्म त्यहाँ पुग्न सहज मोटर यातायातको व्यवस्था हुने र मौसम पनि खुल्ने भएकाले घुमघामका लागि पर्यटक पुग्छन् ।

बाह्रैमहिना यातायातको निर्वाध सुविधा पु¥याउने र अन्य आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने यस क्षेत्रमा पर्यटकको आवागमन बढ्नेमा दुईमत छैन ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...