चैते धान प्रवर्द्धनका लागि विभिन्न सरकारी सुविधा, किसान चासोविहीन

news

कविराज घिमिरे

धनकुटा, वैशाख ३ । यतिबेला चैते धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ । यसैबीच चैतेधान प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम ल्याए पनि धनकुटामा भने कृषकहरुको उत्साह बर्सेनि घट्दो क्रममा छ ।

कृषि ज्ञान केन्द्र धनकुटाले चैते धानको प्रवर्द्धनका लागि २५० हेक्टर क्षेत्रफलमा कार्यक्रम राखे पनि ८ हेक्टर क्षेत्रफलमा मात्र कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमअन्तर्गत बीउमा पचास प्रतिशत अनुदानसहित निःशुल्क ढुवानीको सुविधा दिइएको थियो ।

त्यस्तै, गोडमेल गर्ने, मल छर्ने उपकरण प्रतिहेक्टर दश हजारको दरले प्रोत्साहन भत्तालगायतका कार्यक्रम थिए । कार्यक्रमको बारेमा पटकपटक कृषकलाई जानकारी गराए पनि चासो नदिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

कार्यक्रमको माग नै नभएकाले चैते धानको लागि आएको पैसा र प्रविधि नै फिर्ता गर्नुपरेको कार्यालयका बागबानी विकास अधिकृत पूर्णमाया गुरुङ बताउँछन् ।

धनकुटामा कुल ७ हजार ७ सय ११ हेक्टर क्षेत्रफलमा चैते धानको खेती गर्न सकिन्छ । तर हाल १४२५ हेक्टर क्षेत्रफलमा मात्र चैते धानको खेती हुने गरेको छ । बाँकी क्षेत्रमा बर्षायाममा मात्र धान उत्पादन हुने र अन्य समय बाँझै पल्टिने गरेको छ ।

कृषिप्रधान मुलुक भनिए पनि कृषकमा कृषिप्रति निरााशा बढ्दै जानुमा सिँचाइँ, प्रविधि र कामदार अभावका कारण खेती गर्न समस्या हुने गरेको धनकुटा कुसेटारका कृषक शेरबहादुर कार्की बताउँछन् ।

धनकुटामा हाल स्थानीय प्रजातिसहित तौली, चैते २, चैते ४, बेलगुटी, हर्दिनाथ–१ लगायतका जातको खेती हुने गरेको छ । कृषि क्षेत्रप्रति कृषकको उत्साह बढाउन सरकारले विशेष पहल गर्न आवश्यक छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...