ओमनसामू २३० रनको लक्ष्य, जिसीको विस्फोटक ब्याटिङसँगै नेपालको सम्मानजनक स्कोर

news

काठमाडौं, वैशाख ३ । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपालले ओमनलाई २३० रनको लक्ष्य दिएको छ । मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभर दुई बलमा सबै विकेट गुमाउँदै २२९ रन बनाएको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७५ रन बनाएका थिए । त्यस्तै प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५, रित गौतमले १० रन बनाए ।

पुछारमा ब्याटिङका लागि आएका प्रतिष जिसीले विस्फोटक ब्याटिङ गर्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पुर्‍याएका हुन् ।

१७६ रनमा आठ विकेट गुमाइसकेको अवस्थामा उनी मैदानमा प्रवेश गरेका थिए । लगत्तै नेपालले कमलसिंह ऐरीका रुपमा अर्को विकेट गुमायो । १७८ रन बनाउँदा नौ विकेट गुमाइसकेको अवस्थामा जिसीले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ४१ रन बनाए । उनले दुई चौका र चार छक्का प्रहार गरे ।

जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो । यसअघिका तीनमध्ये दुई खेलमा जित र एक हार व्यहोरेको नेपाल आज तेस्रो जितको खोजीमा छ । प्रतियोगिताबाट विश्वकपका लागि छनौट हुने नेपालको सम्भावना जीवित छ । तर त्यसका लागि नेपालले आफ्ना बाँकी रहेका दुबै खेल जित्नुपर्नेछ भने युएईले कम्तिमा एक खेल हार्नुपर्नेछ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुर र मलेसियालाई भारी अन्तरले हराउँदा युएई विरुद्धको खेलमा वर्षा बाधक भएपछि ‘डिएल मेथड’अनुसार पराजित भएको थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...