१२ नेपाली महिला तस्करी गर्ने बेलायती केन्यामा पक्राउ, अदालती कार्वाही शुरु

news

फोटोः दि स्टार

१२ नेपाली महिलालाई तस्करी गरी केन्याको आफ्नो रात्रि क्लवमा प्रयोग गरेको अभियोगमा एक बेलायती नागरिक पक्राउ परेका छन् । पक्राउ परेका अमिराली अलिभाई नाम व्यक्तिसँग बेलायतसहित दुई देशको नागरिकता पनि रहेको छ ।

प्रहरीले अलिभाईसँग भारत र बेलायतको नागरिकता रहेको दावी गरेको छ भने अलिभाईका वकीलले उनीसँग दोहोरो नागरिकता रहेको स्वीकार्दै भारतको नभई बेलायत र क्यानडाको रहेको जिकीर गरेको छ ।

गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा केन्याली प्रहरीले १२ नेपाली महिलासहित त्यसका सञ्चालक अलिभाईलाई पनि पक्रेको थियो । प्रहरी छानबिनमा अलिभाइले १२ नेपाली महिलाको तस्करी गरी न्यालीस्थित क्लबमा प्रयोग गरेको खुलेको थियो ।

अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध नेपाली महिला तस्करी गरेर दुरुपयोग गरेको अभियोग छ ।
नेपाली महिलाहरुलाई मार्च १३ देखि २४ को बीचमा झुक्याएर आफ्नो क्लबमा प्रयोग गरिएको दायर मुद्दामा उल्लेख छ । मानव तस्करी गरेको, त्यसका लागि उक्साएको र नेपाली नागरिकको भ्रमण कागजात जफत गरेको अभियोग पनि उनलाई लगाइएको छ ।


रंगिला बार र एम्की प्लाजाका मालिक अलिभाईले उक्त स्थललाई नेपालीको तस्करीमा प्रयोग गर्ने गरिएको दी स्टार नामक अनलाइन पत्रिकाले जनाएको छ ।

दुई लाख धरौटीमा छुटे अलिभाई, अप्रिल २३ मा अर्को सुनुवाई

उनले आफूविरुद्ध लागेका सबै अभियोग सान्जु अदालतका सिनियर प्रिन्सिपल म्यजिस्टे«ट डेभिड ओडिएम्बोका अगाडि अस्वीकार गर्दै धरौटीमा छाड्न माग गरेका थिए ।

म्यजिस्टे«ट ओडिएम्बोले पनि उनलाई धरौटीमा नछोड्न पर्याप्त कारण नपुगेको भन्दै त्यहाँको मुद्रा दुई लाख धरौटीमा छाड्न आदेश दिएका छन् ।

दुई देशको नागरिकता भएका अलिभाई भाग्न सक्ने आशंका गर्दै पासपोर्ट दिन नमानेपछि अदालतले शुरुमा धरौटीमा छाड्न मानेको थिएन । तर विपाक्षी वकीलले तर्क सुनेपछि अदालत फेरि धरौटीमा छाड्ने निर्णयमा पुगेको हो ।

यसअघि स्टेट काउन्सिल सक्विलाले अभियुक्तसँग भारतसँगै बेलायतको पासपोर्ट रहेको दावी गर्दै पासपोर्ट जफत नगरी धरौटीमा छाड्दा देश छाड्न सक्ने खतरा रहेको जिकिर गरेका थिए ।

तर म्यजिस्ट्रेटले अलिभाईको राष्ट्रियताका सन्दर्भमा उठेको प्रश्नमा अभियोजक पक्षले धरौटीमा छाड्नु नपर्ने बलियो प्रमाण दिन नसकेकाले रिहा गर्न आदेश दिइएको जनाएको छ ।

मुद्दाको चाँडो सुनुवाई गर्न पनि स्टेट काउन्सिलले माग गरे बमोजिम यही अप्रिलको २३ मा अघिल्लो सुनुवाईको मिति तोकिएको छ ।

नेपाली महिलालाई घर पठाउनुपर्ने भएको तथा यस प्रकरणमा गवाहका रुपमा ती महिलाको बयान लिनुपर्ने भएकाले छिट्टै सुनुवाई गर्न माग गरिएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...