महाभारतकी कुन्ती-३२

news

-हरिविनोद अधिकारी

सञ्जयको भूमिका सन्देहास्पद थियो पनि , थिएन पनि । आजैमात्र सञ्जयले जेठाजुलाई भनेछन्—महाराज, यज्ञ मण्डपबाट आउने आगोको लप्काले महाराजलाई ,गान्धारी, कुन्ती र मलाई समेत लपेट्ने छ र हाम्रो अन्तिम हुनेछ । मेरो बिचारमा हामीले अहिले नै अग्नि समाधि लिने बेला भएको छैन जस्तो लाग्छ किनभने बदरीनाथको दर्शन गर्नु जो छ । नजिकै पहाडमा बदरिकाश्रम छ । बरु त्यतै जाऊँ । हुन त मैले पनि यो कुरा सुनेँ तर मलाई अव यो शरीरलाई धानेर बस्ने मन छैन ।  जेठाजु र दिदी त झन जुन दिनदेखि दुर्योधनको वीरगति प्राप्त भएको थियो र सम्पूर्ण वीरहरुको लासको बीचमा गएदेखि नै उहाँहरुमा मृत्युको चाहना धेरै देखिन्थ्यो । उहाँहरुलाई म र विदुरले राजकाज छोडेर पछि पछि आउलान् भन्ने लागेकै थिएन । तर मैले र विदुरले ती दृष्टिविहीन र क्लान्त महाराज र महारानीलाई छोड्ने कुनै आधार नै थिएन । भन्यो नि त युधिष्ठिरले मलाई-मलाई युद्धका लागि उक्साउने तपाईँ नै हो विपुलाको उदाहरण दिएर अनि सिँहका बच्चाको उपमा दिएर तर आज किन पिताविहीन हामीलाई छोडेर जाँदै हुुनुहुन्छ वानप्रस्थाश्रममा ? अनि मैले भनेकी थिएँ-कर्तव्याकर्तव्यको ज्ञान नभए त कसरी मनुष्य योनिमा जन्म भएको सार्थक भयो र ? उहाँहरु तिमीहरुसँग जतिदिन बस्नु भयो, आधा जीवन बाँचेसरह बाँच्नु भयो ।

खाली दुर्योधनादिलाई सम्झने, भीष्म पितामहलाई गाली गर्ने अनि काल कहिले आउने हो भनेर अधैर्यताका साथ प्रतीक्षा गर्ने ? कति रात त नखाई नखाई बस्नुभयो, कति रात त ननिदाई ननिदाई  जाग्राम बस्नुभयो । यी सबै कुराको  साक्षी विदुर र म भन्दा पनि सञ्जयलाई  थाहा छ । अनि मैले पाण्डुको व्यवहार पूरा गर्नु नै पर्छ र तिमीहरुको भलो चाहँदै, भावी राजाको रुपमा परीक्षितलाई यो राज्य सुम्पँदै विदा हुन लागेकी हुँ । तिमी राजा हौ, बेलामौकामा हाम्रो रेखदेख गर्न आउनू, विदुरसँग सल्लाह गर्न आउनू र बृद्ध मातापिताहरुसँग भेटेर आशीर्वाद लिनू । यसोभन्दा पक्कै नै मेरो गला अवरुद्ध भएको थियो । अनि  पाण्डवले गर्ने सुशासनको कल्पना पनि गरेकी थिएँ ।

हामी एउटा युग र अर्को  युगको सँक्रमणमा छौँ । यो कुरा मैले  युधिष्ठिरसहित पाँचै भाइ र कर्णको छोरो, भीमको नातिसहितलाई राखेर भनेकी थिएँ । युयुत्सु पनि थियो । वास्तवमा विदुरको कमीलाई केही भए पनि युयुत्सुले पूरा गर्दै होला , कर्णको छोराले पूरा गर्दै होला किनभने बाबुजस्तै वीर छ र काकाहरुप्रति कुनै क्लेश राखेको छैन । त्यसको प्रमाण भनेको अश्वमेध यज्ञमा उसले देखाएको तत्परता, लगनशीलता, वीरता र समर्पणभावले देखाएको थियो किनभने उसले पनि अपनत्वको छहारी पाएको थियो मेरोसहित मायाको पोको । काका काकी र माताहरुको माया पाएको थियो ।

सञ्जयको भूमिका जब सम्झन्छु हाम्रो हस्तिनापुर दरबारमा , पक्का पनि उनको समर्पणभाव भनेको जेठाजु महाराजप्रति नै थियो । पाण्डुमा त्यस्तो तेरो मेरो भन्ने खासै भाव कहिल्यै देखिएन । उहाँमा हस्तिनापुरको विस्तार बाहेक अरु केही पनि चाहना देखिएन । मात्र राज्यको विस्तार जसरी हुन्छ गरिरहने । सञ्जयमा कुनै आग्रह त थिएन तर जेठाजुप्रति भने उसको साखुल्ले भाव सधैँ देखियो र अन्तमा पनि एकपटक जेठाजुलाई उनले भने पनि-महाराज, मेरो भनाइ मान्नुस्, आगोको लप्कालाई वास्ता नगरेर आत्महत्या नगर्नुस् । तर जेठाजु मौन बस्नुभयो साधनामा लीन भएझैँ गरी, दिदी पनि केही बोल्नु भएन र मैले त उहाँहरुलाई एक्लै छोडेर बाँच्नुको कुनै अर्थ त्यही बेलामा देखिन जुनबेलामा म उहाँहरुसँगै सम्पूर्ण राजपाठ छोडेर आएँ । राजा शूरसेन र महारानी मारिषाकी छोरी, कुन्ती भोज महाराजकी एकलौटी पोष्यपुत्री पृथा जसलाई हस्तिनापुरका चक्रवर्ती महाराज पाण्डुकी पटरानीको रुपमा रहेकी थिएँ र पछि पनि संसार प्रसिद्ध योद्धा पाण्डवकी राजमातालाई दरबार छोडेर हिँड्नु पो किन परेको थियो र ? तर कर्तव्यको बलिवेदीमा म राजीखुसी पसेकी हुँ र आजको दिनसम्म पनि, मृत्युवरणको समय निकट आउँदा पनि मलाई कुनै क्लेश वा विषाद केही छैन र कसैप्रति कुनै द्वेष, घृणा र पूर्वाग्रह केही पनि छैन ।

जसरी मानिस जन्मँदा कुनै कलङ्क नभएर निष्कलङ्क जन्मेको हुन्छ, मर्दा पनि निष्कलङ्क मर्न पाउनु पर्छ । मैले आफूलाई अहिले एकदम शून्यमा पाएकी छु, कुनै आग्रह, पूर्वाग्रहविहीन अवस्थामा अनुभूत गरिरहेकी छु । त्यसैेले सञ्जयको वारेमा कुनै कलुषित भावना नराखेरै सोच्दैछु-धर्म अधर्मको सम्पूर्ण ज्ञान हुँदाहुँदै पनि महाराज धृतराष्ट्रप्रतिको आस्था र विश्वासका कारणले उनले आफूलाई पाण्डवभन्दा फरक वर्गको रुपमा देखाउन सक्षम भएका भए पनि आखिर जीत त पाण्डवकै हुन्छ भनेर बारम्बार जेठाजुलाई सतर्क गराउने र दुर्योधनलाई सम्झाएर भए पनि युद्धबाट टाढा लैजानुस् पनि भनेको सुनेकी हुँ । तर युधिष्ठिरलाई त कूटवार्तामा जाँदा यसो भनेछन्अरुले जे सुकै गरुन् तर महाराज युधिष्ठिरले भने वंश नाश हुने गरी युद्ध गर्नु मनासिब होइन, छोड्नुस् राज्यको चक्कर र चुपचाप महाराजको सेवा गरेर हस्तिनापुरमा बस्नुस् । अरुले जे जे गरे पनि युधिष्ठिरबाट वंशविरुद्धमा केही नहुने कुरामा महाराज धृतराष्ट्र विश्वस्त हुनुहुन्छ ।

कूटवार्तामा जे भनिन्छ, त्यसको त्यही मात्रै अर्थ नहुने रहेछ । सुदूर परिणामको झिल्कोलाई अनुमान गर्दै कुनै विषयलाई प्रवेश गराउने कुरो हुँदो रहेछ । त्यसै भन्थ्यो कृष्ण—दिदी, मैले पाँच गाउँ भनेको यिनले त्यो पनि दिँदैनन् भनेर भनेको । दिए त ? दिएनन् नि । हो, त्यस्तै हो सञ्जयले पनि भनेको । उसलाई भविष्यको वारेमा थाहा थियो र पनि महाराजको चित्त बुझाउनका लागि पनि दिव्यदृष्टि र दिव्यशक्ति प्राप्त गरेको बुझ्न सकिन्थ्यो । हस्तिनापुरका चिरपरिचित सेवक गवल्गण सुतका छोरा सञ्जयमा वाक्पटुता थियो, महाराजलाईँ विश्वस्त पार्ने कला थियो र बाँकी  दरबारका मानिसहरुमा उनी महाराजका विश्वासपात्र सेवक र कूटवार्ताकार हुन् भन्ने थाहा थियो ।

त्यसैले युद्धका वेलामा कूटवार्ताका लागि समेत उनलाई प्रयोग गरिन्थ्यो किनभने सुतजातिले वार्ताकारले  हतियार नबोकी शान्तिवार्ता गर्न पाउने हक उनलाई दिइएको थियो । त्यसैले उनले युद्ध नचलेको बेलामा युद्ध शिविरमा महाराजको प्रतिनिधिका हैसियतले दुवै युद्धरत सेनाका शिविरमा जाने आउने साधिकार प्राप्त थियो । त्यसैले व्यासजीले उनैलाई युद्धको सविस्तार विवरण दिन खटाउनु भएको थियो । युद्धको कुनै पनि क्षणमा महाराजबाट युद्ध रोक्ने आदेश हुनसक्ने कुरामा युद्धरत दुवैथरि आशावान भने थिए । दुर्योधनहरु आफ्ना पक्षमा त्यस्तो निर्णय होस् भन्ने चाहन्थे भने पाण्डवहरु पनि महाराजले सम्मानसाथ हस्तिनापुर दिने कुरामा झिनो आशा पालेकै थिए । तर पनि कृष्णचाहिँ भन्थ्यो—फुपू, चुपचाप बस्नुस्, युद्ध हुन्छ, तपाईँकै छोराहरुले जित्छन् र राज्य गर्छन् अकण्टक ।

परीक्षित नै राजा हुन्छ । तर भ्रम हामी सबैमा के थियो भने युद्ध नभएर पाण्डवका हातमा सत्ता आउने छ । त्यो भ्रमबाट भने मलाई कृष्णले बेलैमा विश्वास दिलाएको थियो । सञ्जयले सबै बुझेका थिए तर पनि एउटा राजाको विश्वासपात्र सेवकले सबै कुरा जे देख्छ भन्नु पनि नहुने रहेछ । भने पनि भनेनन् पनि । पछि पो थाहा भयो, व्यासले एउटा इतिहास लेख्नु भएको रहेछ चुपचाप हाम्रो परिवारको, त्यसको जानकारी राख्नेमा वैशम्पायन, पैल, सुमन्तु, जैमिनि र शुकदेव रहेछन् । त्यो अहिलेसम्म पनि बाहिर भनिएको छैन रे तर सञ्जयलाई सबै थाहा छ रे । सायद यो कुरा कसैले पनि थाहा पाएका छैनन् क्या रे तर एकदिन मलाई विस्तारै भन्नु भएको थियो व्यासजीले- तिमी नाथहरुकी अनाथ माता भए पनि तिम्रै सन्तानले भारतको राज्य गर्नेछन् पछिसम्म कुन्ती । तिमीले कुनै त्यस्तो दुःख छैन जुन भोगिनौ तर तिमी नै त्यस्ती भाग्यमानी अममर माता हुनेछ्यौ यो भारतवर्षमा  जसले सम्पूर्ण दुःखलाई पनि पचाउन सक्यो र शान्तिका लागि सबैकी मान्यवर हुन सक्षम हुन सक्यौ । व्यासले त्यसो भन्दा मैले सानैमा माता पिताको काख छोडेदेखिको त्यो बेलासम्मका सबै दुःख बिर्सेकी थिएँ ।

यसो सम्झन्छु- संसार कसरी चल्छ होला, सूर्यलाई कसले उत्पत्ति गरेको  होला, चन्द्रलाई कसले यो संसारमा पृथ्वीको संरक्षणका लागि पठाएको होला ? यो पृथ्वी कसरी करोडौँ ताराका बीचमा अडिएको होला ? को होला यो सबै मिलाउने परमात्मा ? परमेश्वर ? या कुनै अर्को अर्को अदृश्य शक्ति छ त यो सबै गणितको रुपमा ठ्याक्कै मिलाउने ? सायद व्यासजीलाई यो सबै कुरा थाहा छ र त उहाँले यी सबै कुराहरु राखेर लेख्नु भएको छ रे जुनकुराको जानकार सञ्जय पनि हुन् रे । अनि त आज विहानै उनले भने-मैले केही कुरा पूरा गर्नु छ यो संसारमा , त्यसैले आत्महत्या गर्नु छैन मलाई, म त हिँडे बदरिकाश्रम तर्फ महाराज । यसो भन्दै मैले सुन्ने गरी त्यसो भन्दै सञ्जय सधैँका लागि हामीलाई छोडेर  हिँडेको देखँे । म बरु आगोमा समाधि गर्न तत्पर छु, तर जेठाजु र दिदीलाई यसै छोडेर हिँड्न सकिन । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...