प्रधानमन्त्रीद्वारा ‘नमुना कावासोती सदरमुकाम’को शिलान्यास

news

हरि शर्मा (इमेज)

नवलपुर, वैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नवलपरासीमा ‘नमुना कावासोती सदरमुकाम’को शिलान्यास गरेका छन् ।

शनिबार जिल्ला समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सदरमुकामको शिलान्यास गरेका हुन् ।

नवलपरासीबाट विभाजन भएर नयाँ जिल्ला बनेको पूर्वी नवलपरासी नेपालको कान्छो जिल्लाकारुपमा रहेको छ ।

नयाँ जिल्ला भएपछि यहाँ स्थापना भएका ३० भन्दा बढी सरकारी कार्यालयहरु भाडामा सन्चालनमा छन् ।

‘नमुना कावासोती सदरमुकाम’ नाम दिइएको उक्त स्थानमा सबै सरकारी कार्यालयका भवनहरु निर्माण हुनेछन् ।

भवन निर्माणका लागि कावासोती नगरपालिका–३, राममन्दिर चौरको १८६ विगाहा जग्गा उपलब्ध गराइएको छ ।

गन्डकी प्रदेश सरकारमार्फत् संघीय सरकारले उपलब्ध गराएको जग्गामा जिल्लामा रहने स्थानीय, प्रदेश र संघीय सरकारका कार्यालयहरु निर्माण हुने जनाइएको छ ।

‘एक वर्षको अवधिमा उल्लेखनीय प्रगति’

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ७७ जिल्लामध्येको कान्छो जिल्लाकारुपमा रहेको पूर्वी नवलपरासीको नवलपुरलाई आफूले देशमै नमुना सदरमुकामको परिकल्पना गरेको बताए ।

एक वर्षको अवधिमा पर्यटन, कृषि, सडकदेखि भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी थियो ।

कावासोतीस्थित धोवादीमा रहेको फलाम खानीदेखि देशभरका सबै खानीहरुलाई व्यवस्थित गराउन लागिएको उनले बताए ।

सुकुम्बासी समस्या नवलपरासीबाटै सुरु भएको भन्दै जग्गा नभएका वास्तविक नागरिकहरुको पहिचान गरी व्यवस्थित गराइने उनले उल्लेख गरे ।

सहयोगका लागि ध्यानाकर्षण

गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गन्डकी प्रदेशले सन्चालन गर्न लागेका ठूला योजना संघीय सरकारको आर्थिक सहयोगबिना असम्भव भएकाले सहयोगका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पोखरादेखि पूर्वी नवलपरासीको दुम्कीवास र त्रिवेणीसम्म सडक निर्माणका लागि छिट्टै नै सम्भाव्यता अध्ययन सुरु हुने र डीपीआर तयार भएपछि काम सुरु हुने मुख्यमन्त्री गुरुङले बताए ।

कार्यक्रममा राष्ट्रिसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललगायतले यो शिलान्याससँगै यहाँका जनतालाई दिइने सेवा–सुविधा पनि नेपालमै नमुनाकारुपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

शिलान्यास कार्यक्रमपछि प्रधानमन्त्री ओली दुम्कौलीस्थित चौधरीग्राममा रहेको शास्वतधाम मन्दिरको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री ओली शास्वतधामपछि बिहीबार अपराह्न काठमाडौं फर्किएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...