कोशकार नेपालको निधन

news
फाइल तस्वीर ।

काठमाडौं, वैशाख ७ । कोशकार एवं साहित्यकार वसन्तकुमार शर्म्मा नेपालको ९७ वर्षको उमेरमा शनिबार उनकै निवास चाबहिल, मैंजुबहालमा निधन भएको छ ।

वि.सं. १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मिएका साहित्यकार नेपाल दुई महिनादेखि निवासमै अचेत अवस्थामा थिए ।

पाँच महिनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महिनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेको उनका माहिला छोरा विनयकुमारले राससलाई जानकारी दिए ।

उनी मस्तिष्काघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए ।

उनको पार्थिव शरीरलाई शनिबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली भाषामा सबैभन्दा धेरै शब्द संकलन गरिएको उनको ‘नेपाली शब्दसागर’ वि.सं. २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए ।

वि.सं. २०७० मा ‘नेपाली शब्दसागर’को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पुर्‍याइएको थियो ।

उनले महाभारतलाई गद्यमा चार खन्डमा अनुवाद गरेका थिए । यसैगरी, १३५ ओटा उपनिषद् पनि अनुवाद गरेका थिए ।

हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० ओटा पान्डुलिपी तयार छन् ।

उनका श्रीमती, चार छोरा र तीन छोरी छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...