आईपीएलमा दिल्लीले पन्जावलाई हरायोः राजस्थानसँग मुम्बई ५ विकेटले पराजित

news

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली खेलाडी सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले पराजित गरेको हो ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए । यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए ।

पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए ।

पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २/२ विकेट लिए ।

यो जितसँगै दिल्लीले लिगमा छैटौं जित हात पारेको छ । दिल्लीले १० खेलमा ६ जितसहित १२ अंक जोडेको छ ।

दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानको पन्जाबले १० खेलबाट १० नै अंक जोडेको छ  ।

यसअघि हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्‍यो । हारसँगै मुम्वईले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...