जापानमा रोजगारी : कस्तो छ नेपालीको अवस्था, कति कमाउँछन् ?

news

-युवराज गौतम/ईमेज

काठमाडौं । नेपाल र जापान सरकारबीच भएको सम्झौतापछि नेपालीहरुको रोजगार गन्तब्यका रुपमा जापान यतिबेला रोजाइमा परेको छ । रोजगारीका लागि जापान खुल्ने हल्ला सुरु भएदेखि नै काठमाडौंका कन्सल्टेन्सीहरुले भाषा कक्षाहरु सुरु गरिसकेका छन् ।

कतिपय व्यवसायीहरुले त रोजगारीका लागि जापान खुलेको भन्दै पासपोर्ट संकलन र रकम उठाउन थालेपछि सम्बन्धित निकायले सचेत गराइसकेको छ । यही अप्रिलदेखि जापान लैजाने प्रक्रिया सुरु हुने भनिए पनि केही ढिला हुने संकेत देखिएको छ ।

दुई देशबीच भाषा परीक्षा र सीप परीक्षणको मापदण्डदेखि कति नेपाली लैजाने भन्ने विषयमा छिनोफानो भइनसकेकाले केही ढिला हुने स्रोतले जनाएको छ । जापानले नेपाललगायत अन्य देशबाट ३ लाख ५० हजार कामदार लैजाने निर्णय गरिसकेको छ । जसमध्ये १५ देखि २० हजार नेपालीलाई कामदारका रुपमा जापान लैजाने तयारी छ ।

विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउनेगरी दुई प्रकारका नयाँ भिसा अनुमति प्रणालीमार्फत कामदारलाई जापान पुर्‍याइने छ । अहिले पनि आधिकारिक रुपमा करिब ८५ हजार नेपाली जापानमा बसोबास गरिरहेका छन् ।

अब भने नयाँ आवासीय नीति अनुरुप दक्ष नेपाली कामदार जापान पठाइने सरकारी तयारी छ । उच्च दक्षताभएका कामदारहरुले यहाँ भिसाको अवधी थप्न पाउनेछन् र सेवा सुविधाहरु पनि थपिने छन् ।

जापानमा आधिकारिक रुपमा बसोबास गरिरहेका नेपालीहरुको संख्या ८५ हजारको हाराहारीमा रहेको छ जसमा अधिकांश विद्यार्थी र कामदार छन् । व्यावसायीका रुपमा पनि नेपालीहरुको संजाल ठूलो छ । हाल जापानमा बसेर अध्ययन र रोजगारी गरिरहेका युवाहरुले हामीसँग जापानाको सुःखदुःख वा अनुभव साटेका छन् ।

नेपाली र जापानीलाई समान सुविधा 

राजन गौतमः जापान आएको पाँच बर्ष भयो । यहाँ एक टेलिफोन सेवा प्रदायक कम्पनीमा कार्यारत छु । दैनिक आठ घण्टा काम गर्नुपर्छ बढी समय गर्नुपर्ने ओभरटाइमको छुट्टै पैसा पाइन्छ । भिसा अनुसारको तलब सुविधा तोकिएको हुन्छ । यहाँ सामान्य नेपाली वा जापानी सबैको तलबस्तर समान हुने गर्दछ । त्यसैले यहाँ आएर जापानी कम्पनीमै जागिर खाने व्यक्तिले न्युनतम मासिक दुई लाख कमाउँछन् ।

कामको अनुभव, सीप तथा शैक्षिक र प्राविधिक योग्यता थपिदै जाँदा तलव मासिक चारलाखसम्म हुनेगर्छ । सम्झौता अनुसार तलब नपाईने समस्या यहाँ पनि छ । त्यसैले दलालहरुसँग सचेत रहनुपर्छ । विद्यार्थीको हकमा हप्तामा २८ घण्टा काम गर्न पाइन्छ तर त्यसबाट आएको तलबले खान बस्न नै हम्मे पर्छ ।

२८ घण्टा भन्दा बढी काम गर्दा भिसा एक्स्टेन्सन नहुने, राम्रो काम नपाउने लगायतका समस्याहरु छन् । नेपालीहरुका हकमा भाषागत समस्या हो । जापानी भाषामा दक्षता हासिल गर्नुपर्छ । साथै हातमा प्राविधिक सीप नहुँदा अर्को समस्या पर्छ । जापान आउनु अघि जापानी कानुन, नियम, भाषा र सीप जान्नु जरुरी हुन्छ । 

सही मरामर्श र भाषामा कमजोर हुँदा समस्या 

गणेश विष्ट: नेपाली संस्कारमा हुर्किएका हामीलाई जापानमा काम गर्न कठिन छ । खोटाङबाट जापान आएदेखि म कडा परिश्रममा दिन विताइरहेको छु । म दैनिक १२ घण्टा काममा खटिन्छु । हुनत काममा हाकीमदेखि सामान्य कामदार पनि उत्तिकै खटिन्छन् ।

तर यहाँको भाषा, संस्कृति, दैनिक जीवनशैलीसँग एडजस्ट हुन नेपालीलाई धेरै समय लाग्ने रहेछ । सही मरामर्श र भाषामा कमजोर हुँदा नेपालीले आत्महत्या पनि गरिरहेका छन् । जापानीहरु धेरै खट्ने मजदुरलाई राम्रो मान्छन् । तर नेपालीलाई त्यति राम्रो व्यवहार गरिरहेको पाएको छैन् । विद्यार्थी भिसामा आएकालाई काम खोज्न गारो, कामदार भिसामा आएकालाई त जापानीज संस्कार र संस्कृतिमा एडजस्ट हुन नै धेरै समय लाग्ने रहेछ ।

१४ घन्टासम्म परिश्रम 

अच्युत जंग थापा : म सन् २०००८ मा नुवाकोटबाट जापान आएको हुँ । रेष्टुरेन्टको कामदार भएकाले दैनिक १२ देखि १४ खट्छु । तर नेपाली कामदारहरुलाई यहाँको भाषा र संस्कृतिले धेरै समस्यामा पार्छ  । कमाउन त यहाँ आएका नेपालीले १ लाख देखि २ लाख २० हजारसम्म न्यूनतम कमाउँछन् । तर परिश्रम धेरै गर्नुपर्छ । जुन पेशामा आबद्ध हुने हो सो कुरा नेपालमै निर्णय गर्नुपर्छ र आउँदा राम्रो हुन्छ । नत्र यहाँ आएर अलमल परिन्छ र धेरै दुःख पाइन्छ ।

ठूलो समस्या भनेकै भाषा हो 

तारा नेपाल: म सिन्धुपाल्चोकबाट जापान आएको ६ बर्ष भयो । यहाँको रेष्टुरेन्टमा काम गरिरहेको छु । तर परिश्रम र मेहेनत धेरै गर्नुपरिरहेको छ । नेपालीहरुका लागि ठूलो समस्या भनेकै भाषा हो । तर यहाँ मेहेनती, इमान्दार र अनुशासित भएर काम गर्न सकियो भने राम्रो कमाउन सकिन्छ ।

आत्मबल बलियो बनाउनुपर्छ

चासिला वाइबा तामाङ: म काभ्रेबाट चार बर्ष अघि जापान आएको हुँ । एउटा जापानिज कम्पनीमा काम गरेर मासिक दुईलाख सम्म कमाउँछु । जापान सरकारले दिने विभिन्न प्रकारका भिसा अनुसार पनि कमाइ फरक पर्छ । त्यसैले जापान आउनुभन्दा अगाडी आत्मबल बलियो बनाएर हातमा सीप लिएर मात्र आउनुपर्छ । जस्तोसुकै काम गर्न र खटिन तयार हुन्छु भन्ने मानसिकता बनाउनुपर्छ । यहाँ कानुन कडा छ, परिवार ल्याउनलाई पनि समस्या पर्छ । 

जीवनस्तर मंहगो छ, कमाए अनुसार बचत हुँदैन्

सिर्जना केसी : गुल्मीबाट जापान आएको दुईबर्ष नाघ्यो । भाषा विद्यालयमा अध्ययन पछि म काम गर्न थालेको छु । दुई ठाउँमा काम गरेर सरदर दुई लाख रुपैंयाँ कमाउछु । सुरुमा भाषा र नियम नजान्दा धेरै दुःख पाइयो । खाना र संस्कृति नबुझ्दा पनि दुःख पाइन्छ तर विस्तारै बानी पर्छ । सकेसम्म एनफोर लेभलसम्मको भाषा सिक्दा राम्रो हुन्छ । तर जापानको जीवनस्तर मंहगो भएकाले कमाइ अनुसार बचत गर्न चाहीं निकै समस्या पर्छ ।

योग्यता अनुसारको सुरक्षित जागिर

नविना दाहाल : काभ्रेबाट जापान छिरेको दुईबर्ष बढी भयो । पढ्दै काम गरिरहेको छु । जापान सुरक्षित र योग्यता अनुसार जागिर पाउन सकिने देश हो । भाषामा दक्षता र हातमा सीप भएपछि यहाँ राम्रो जागिर पाउन समस्या छैन् । तर परिश्रम चाहीं धेरै गर्नुपर्छ । जापानको नियम र संस्कृतिका बारेमा मजाले अध्ययन गर्नुपर्ने रहेछ ।

धेरै कमाउने सपना नदेख्नु राम्रो

सुमित गिरी : सन् २०१४ मा बर्दियाबाट जापान आएको हुँ । विना योजना आउँदा धेरै दुःख पाइने रहेछ । यहाँको नियम र भाषाका बारेमा धेरै ज्ञान लिनुपर्छ । भिसा, भाषा, नियम नजान्दा धेरै दुःख पाइने रहेछ । धेरै पैसा कमाउँछु भन्ने सपना नदेख्दा राम्रो हुने रहेछ । न्यूनतम यहाँ कमाइ हुने भनेको एक देखि दुईलाखा रुपैंयाँसम्म हो । तर खर्च धेरै हुने भएकाले बचत गर्न समस्या पर्छ । कतिपय स्थानमा नेपालीहरुकै ब्यवहारले पनि दुःख पाइरहेका छन् ।

भाषा र अनुशासन यहाँको पहिचान

ज्याक खड्का : जापान शान्त र अनुशासित देश हो । नेपालमा जस्तो कानुन उलंघन गर्न यहाँ पाइँदैन । भाषा र अनुशासन यहाँको पहिचान हो । त्यसैले यसका बारेमा जानकार रहनुपर्छ । जापानको टोकियो, साइतमा कानागावा, इबरागी, तोचिगी, ओसाका, नागोयालगायतका  स्थानमा नेपालीको धेरै बसोबास छ ।

जापानमा भिसा र काम

हाल २७ वटा विविध शिर्षकको भिसामा जापानमा बस्न पाइन्छ । जसमा अब दुई वटा थपेर २९ वटा भिसा तयारी गरिदैछ । अर्धदक्ष र दक्ष कामदार छुट्टाइएको छ जसको पाँच बर्षे भिसा कायम गरिएको छ । दक्ष कामदारका हकमा भने भिसा नवीकरण हुने भएको छ । आप्रवासी नितीमा खुकुलो बनाएको जापानले विभिन्न क्षेत्रमा नेपालीहरुलाई पनि रोजगारीको अवसर प्रदान गर्ने तयारी गरिहेको हो ।

नेपालीहरुले करिब १४ वटा औद्योगिक क्षेत्रमा कामको अवसर पाउनेछन् । जसमा होटल, रेष्टुरेन्ट, निर्माण, कृषि, उद्योगल, नर्सिङ केयरलगायत हुन् । तर नेपालीहरुका हकमा भाषा र सीपको दक्षता अनिवार्य गरिएको छ र भाषा परीक्षा मार्फत कामदार छनोट गरिने छ । कामदारलाई कति खर्च लाग्ने भन्ने निर्णय भइसकेको छैन् । 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...