भोलिको दिन नेकपाका लागि अर्को ऐतिहासिक दिन हुनेछः अध्यक्ष दाहाल

news

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताले भोलि पूर्णता पाउने बताएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेकाले भोलि एकताको अन्तिम घोषणा हुने बताएका हुन् ।

उनले मिल्न बाँकी केही विषयमा आजै साँझ छलफल गरी सहमति जुटाइने बताए । उनले भोलिको दिन नेकपाका लागि अर्को ऐतिहासिक दिन हुने समेत बताए ।

उनले पार्टी विधान पनि अन्तिम चरणमा पुगेको भन्दै केही दिनमा पारित गरिने बताए । उनले सरकारले काम गर्न नसकेको भनि आएका गुनासोमा गम्भीर ढंगबाट पार्टीमा छलफल हुने बताए ।

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको दिन पारेर वैशाख ९ गते पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने नेकपाको योजना छ ।

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ ।

घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, दाहाल र नेपालका बीचमा विवाद रहेको छ ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न नसकेको हो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...