नेकपा सचिवालय बैठक बस्दै, पार्टी एकतालाई अन्तिम रुप दिने तयारी

news

                                         फाइल तस्वीर

काठमाडौं, वैशाख ८ । नेकपाका विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन आज सचिवालय बैठक बस्ने भएको छ ।

पार्टीका शीर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि अनुमोदनका लागि आजै साँझ बैठक बस्न लागेको हो । आज बिहान नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।

यसका साथै नेकपाका दोस्रो तहका नेता तथा जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको छ । उक्त बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो ।

छलफलबाट टुंगोमा पुगेका विषयमा नेकपा सचिवालयले अन्तिम खाका तयार गर्नेछ । अध्यक्षद्वय ओली र दाहाल केही दिनदेखि निरन्तर एकता प्रक्रियालाई अन्तिम रुप दिन लागि परेका छन् ।

नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्वको टुंगो लगाउनुपर्ने अडान राख्दै आएका छन् ।

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीमात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, दाहाल र नेपालका बीचमा विवाद रहेको छ । 

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेता बीचमा भए पनि नेतृत्वका विषय टुंगो लाग्न सकेको छैन ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...