मौसममा आंशिक बदली, मेघगर्जनसहित हल्का वर्षा

news

काठमाडौं, वैशाख ९ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ ।

साथै, पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भइ मेघगर्जनसहित हावाहुरीको सम्भावना देखिएको उनले बताइन् ।

नेपालको मौसममा मार्च, अप्रिल र मे महिनाभर प्रि–मनसुनको अवधि रहन्छ ।

मंगलबार र बुधबार पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ ।

पछिल्लो २४ घन्टाको मौसमी विवरणअनुसार काठमाडौंको अधिकतम् तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम १२.५ डिग्री सेल्सियस रहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...