आलोचकहरुविरुद्ध प्रधानमन्त्री असहिष्णु, बचन वाणको निशाना

news
तस्वीरः रासस

काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री केपी ओली सरकारविरुद्ध आलोचना गर्नेहरुमाथि खनिएका छन् । सरकारले विकास गर्न सकेन भन्दै गरिएका आलोचनाहरुलाई उनले आँखामा पट्टी बाँधेकाहरुले विकास देख्न नसकेको भन्दै ‘कटू’ टिप्पणी गरेका हुन् ।

कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा उनले कपडाको नभई चेतनाको पट्टी आँखामा बाँधेकाहरूले अहिलेको सरकारले गरेका विकास नदेखेको बताएका थिए ।

हरेक दिन देश एक कदम अगाडि बढेको दावी गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकको बैंक खाता, विद्यार्थी भर्नाजस्ता धेरै काम भएको जिकीर गरे ।

जसलाई घटाए उसैलाई सोध

प्रधानमन्त्री ओलीले सुनकाण्डका अपराधीहरु र हराएको सुनबारे सोधिएका प्रश्नहरुमा पनि आपत्ति जनाए । हराएको सुनबारे आफु जिम्मेवार हुन नसक्ने उनको भनाइ थियो ।

‘ठेकेदार भाग्यो मेलम्ची आउन ढिला भयो । हामी मेलम्ची ल्याउँछौं,’ उनले भने ‘यो सरकार आएपछि  ३८ टन हो कि क्वीन्टल हुने सुन तस्करी पनि रोकिएको छ । केहीले सोध्छन् ‘खोई सुन? त्यो त त्यतिबेलाकालाई थाहा हुनु पर्ने हामीलाई के थाहा हुन्छ ।’

वृद्ध भत्ता बढ्छ, अनि के गर्छौ ?

गत वर्षको बजेटमा वृद्ध भत्ता नबढाउँदा विरोध गरिएकोमा रुष्टता देखाउँदै प्रधानमन्त्रीले भने, ‘एक वर्ष खुब बाँसुरी बज्यो, बृद्ध भत्ता बढेन भनेर । अबको बजेट आएपछि ती के भन्लान् ?’

प्रधानमन्त्रीले यसअघि नै आउँदो वर्ष वृद्ध भत्ता बढाउने सार्वजनिक गरिसकेका छन् । सरकार सामाजिक न्यायसहितको सम्वृद्ध देश बनाउने अभियानमा लागेको पनि उनले बताए ।

ज्योतिष पनि निशानामा

आलोचकप्रति असहिष्णु बनेका प्रधानमन्त्रीले ज्योतिषलाई समेत छाडेनन् । दुई पार्टी मिल्ने विषयको भविष्यवाणी गर्न नसक्ने ज्योतिषीले फुट्छ, फुट्दै छ भन्ने ? उनको प्रश्न थियो ।

यसअघि पनि प्रधानमन्त्री ओलीले ज्योतिषहरुप्रति कटाक्ष गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...