सरकारी छात्रवृत्तिको सहि सदुपयोग भएन

news

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, वैशाख ९ । निजामती कर्मचारीका सन्तानलाई दिइँदै आएको छात्रवृत्ति कार्यक्रम प्रभावकारी नभएपछि सरकारले उक्त कार्यक्रम नै बन्द गरेको छ ।

छात्रवृत्तिमा पढ्नेहरुलाई सरकारले काम दिन नसक्ने र अध्ययन पूरा भएपछि विद्यार्थीहरु पनि विदेश पलायन हुने प्रवृत्ति बढेपछि उक्त कार्यक्रम बन्द भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गर्दै आएको थियो ।

२०६६ सालदेखि लागू भएको उक्त कार्यक्रमअन्तर्गत् २०७४ सम्म आइपुग्दा दुई हजार ८२२ जनाले छात्रवृत्ति सुविधामा उच्चशिक्षा हासिल गरिसकेका छन् । जसका लागि सरकारले ६० करोड ४१ लाख ४ हजार रुपैयाँ खर्च गरिसकेको छ ।

तर, महालेखापरीक्षकको प्रतिवेदनले छात्रवृत्तिमा अध्ययन गरेका निजामती कर्मचारीका सन्तानहरुलाई सरकारले कुनैपनि काममा नखटाएको औंल्याएको छ ।

छात्रवृत्ति निर्देशिका २०७२ अनुसार छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई अध्ययन पूरा गरेको एक वर्षभित्र सरकारले कुनै संस्था वा निकायमा काममा खटाउन सक्दछ । तर, हालसम्म कुनैपनि विद्यार्थीलाई काममा नखटाएको प्रतिवेदनले देखाएको हो ।

कतिसम्म भने छात्रवृत्ति पाएका विद्यार्थीहरुले पढाइ पूरा गरे/नगरेको अभिलेखसमेत सरकारसँग छैन ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले छात्रवृत्तिमा पढ्ने विद्यार्थीले पनि लोकसेवा पास गर्नुपर्ने भन्दै उनीहरु लोकसेवा परीक्षामा सहभागी नै नहुने गरेको बताए ।

छात्रवृत्तिमा अध्ययन गर्ने र विदेश पलायन हुने प्रवृत्ति बढेपछि सरकारले गत वर्षदेखि निजामती कर्मचारीका सन्तानलाई दिइने छात्रवृत्ति कार्यक्रम नै बन्द गरेको पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।

छात्रवृत्ति प्राप्त गर्ने कबुलियतनामामा भने अध्ययन पूरा नगरेमा, अध्ययनको वार्षिक प्रगति नबुझाएमा, अन्य निकायबाट छात्रवृत्ति प्राप्त गरेमा, दोहोरो छात्रवृत्ति प्राप्त गरेमा, सरकारले खटाएको काम नगरेमा वा विषय परिवर्तन गरेमा छात्रवृत्तिको रकममा समितिले निर्धारण गरेबमोजिमको ब्याजसमेत तिर्नुपर्ने व्यवस्था छ ।

तर, सरकारले छात्रवृत्ति दिएर अध्ययन गरेकाहरुलाई काम नदिएकोमात्रै होइन, छात्रवृत्ति रकमको प्रयोग कसरी भइरहेको छ भन्ने अभिलेखसमेत नराखी सरकारी लगानीको सामान्य अनुगमनसमेत नगरेको प्रस्ट हुन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...