ज्योतिषीलाई प्रधानमन्त्री ओलीको यस्तो झटारो (भिडियो)

news

काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अब कम्युनिस्ट पार्टी कहिल्यै नफुट्ने दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वर्षगाँठका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र केही असन्तुष्टि रहेको भएपनि जनता सन्तुष्ट रहेको जिकिर गरे ।

नेकपा फुट्ने ज्योतिषीहरुको भविष्यवाणीप्रति आक्रोशित हुँदै प्रधानमन्त्री ओलीले 'नेकपा एमाले र माओवादी केन्द्र मिल्नसक्ने भविष्यवाणी गर्न नसक्ने ज्योतिषीले कसरी फुट्ने भविष्यवाणी गरे ?' भन्ने प्रश्न गरे ।

नेपाली कांग्रेसले सधैं प्रतिगामी शक्तिहरुसँग मिलेर कम्युनिस्टहरुलाई पेल्ने गरेको आरोप लगाउँदै उनले ‘कांग्रेसले अहिले फेरि राजतन्त्रको वकालत गर्नु त्यसकै शृंखला हो’–भने ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले एक वर्षमा थुप्रै राम्रा काम गरेको भन्दै आर्थिक वृद्धि ७ प्रतिशतको हाराहरीमा पुग्न लागेकाले अब वृद्धभत्ता बढाउने बताए ।

'एकता बिथोल्न खोज्नेहरुलाई ठूलो धक्का'

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समानान्तर जिल्ला कमिटीहरु बनाएर एकता बिथोल्न खोज्नेहरुलाई ठूलो धक्का दिएको बताए ।

उनले सरकारको समीक्षाको पनि समय आएको भन्दै अबको ८ महिनाभित्र जिल्ला अधिवेशनहरु र एक वर्षभित्र महाधिवेशन गरेर पार्टीभित्र सफाइ अभियान चलाउने पनि बताए ।

कार्यक्रममा ७७ ओटै जिल्लामा अध्यक्ष र सचिव चयन गरिएको जानकारी गराइएको थियो ।

तर, वरिष्ठ नेता माधवकुमार नेपाल भने पार्टी अध्यक्षहरुको सम्बोधन नहुँदै कार्यक्रमबाट बाहिरिएका थिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...