विद्यालयहरु विस्तारै पुनःनिर्माण

news

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, वैशाख १२ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका विद्यालयहरु विस्तारै पुनःनिर्माण भइरहेका छन् ।

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि हालसम्म ४ हजार ४७६ विद्यालयमात्र पुनःनिर्माण भएका हुन् ।

भूकम्पका कारण ३२ जिल्लाका ७ हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । जसमा ३७० विद्यालय अर्कोमा गाभिएकाले ७ हजार ५५३ ओटा विद्यालयमात्र पुनःनिर्माण गर्नुपर्ने थियो ।

यीमध्ये हालसम्म ४ हजार ४७६ विद्यालय पुनःनिर्माण भइसकेका छन् । आंशिक क्षति पुगेका एक हजार विद्यालयमा भने अहिलेसम्म काम नै सुरु भएको छैन । जमिन र बजेट अभावका कारण काम सुरु हुन नसकेको बताइएको छ ।

पुनःनिर्माणमा विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी र गैरसरकारी संस्थाहरु सक्रिय छन् । यीमध्ये ८० प्रतिशतमा नेपाल सरकार र दातृ संस्थाहरुको सहयोगमा र १० प्रतिशतमा गैरसरकारी संस्थाहरुको सहयोगमा काम भइरहेको छ ।

८ ओटा कोठासम्ममात्र भएका विद्यालयहरु भने विद्यालय व्यवस्थापन समितिबाटै निर्माण भइरहेको छ । अन्य १० प्रतिशत भने विभिन्न परियोजनाहरुको सहयोगमा निर्माण भइरहेका छन् ।

यी सबैका लागि ११९ अर्ब रुपैयाँ रकम लाग्ने अनुमान गरिएको थियो ।

सोमध्ये विद्यालय पुनःनिर्माणमा हालसम्म ५० अर्ब रकम खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत् शिक्षाका केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख इमनारायण श्रेष्ठ बताउँछन् ।

विद्यालय पुनःनिर्माणका लागि सबैभन्दा बढी सहयोग एसियाली विकास बैंकले गरेको छ ।

क्षति भएका सबै विद्यालयहरु अबको दुई वर्षभित्र पुनःनिर्माण गरिसक्ने सरकारी लक्ष्य छ ।

भूकम्पले बढी क्षति भएका जिल्लाहरुको विद्यालय पुनःनिर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

विद्यालय पुनःनिर्माणमा विभिन्न दातृनिकायको सहयोग भएपनि नेपाल सरकारले आफ्नै बजेटबाटसमेत अर्बौं रकम छुट्याएर काम गरिरहेको छ ।

क्षति पुगेकामध्ये आधाभन्दा बढीमा प्रगति सन्तोषजनक देखिएपनि भुकम्प गएको ४ वर्ष बितिसक्दासमेत पुनःनिर्माण हुन नसकेका विद्यालयमा भने पठनपाठनमा असर परिरहेको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...