घृणा र अपमानलाई प्रेमले नै परास्त गर्न सक्छ

news

संजिव कार्की

बर्जित हुनुपर्ने बिषय र धारणा केही छ र हुन्छ भने त्यो हो घृणा र अपमान । पृथ्वीलोकमा होस् या परिकल्पित अनन्त लोकमा घृणा, अपमान र बदलाको भाव छ, हुन्छ र थियो भन्छन् मान्छेहरु, विभिन्न लोक परलोकका परिकल्पनाकारहरु । अर्को लोक र अलग धर्ती आकाशको होइन, यही लोक अझ हाम्रो भुमिमा प्रयोग भएका घृणा, अपमान, बदलाको चर्चा गरौं ।

घृणाले घृणालाई जित्न सक्दैन, अपमानले अपमानलाई हराउन सक्दैन, बदलाभावले बदला केही समयका लागि लिन सक्छ तर अनन्तकालसम्म जोगाउन सक्दैन । बदलाको शिकार स्वयं बदला हुनेछ कुनैदिन, तसर्थ यी भाव, सोचाई र धारणामा संयम र धैर्य चाहिन्छ । धैर्य गर्न सकिएन भने सामान्य घटना, बोली, ब्यवहार असामान्य र बिग्रहपूर्ण विवादित र अन्त्यमा एक अर्कालाई, परस्परमा भौतिक आक्रमण र समाप्तिको बिन्दुतिर पु¥याउने बनिदिन्छ ।

बर्बादी समाप्ति अनि अस्तित्वहीन अस्तित्वको नकारात्मक बिम्बको रुपमा रहिरहन्छ सधैं सधैं । बुद्धले सधैं भने– प्रेमले संसार जित्न सकिन्छ जुन दिगो र भरोसायुक्त हुन्छ ।

घृणा, अपमान र अहंकारले पनि भौतिक आक्रमणबाट जित्न सकिन्छ यदाकदा तर त्यो जित क्षणिक हुन्छ, कालजयी बन्न सक्दैन । जितलाई कालजयी बनाउन, प्रेमपूर्ण र हार्दिक बनाउन प्रेम नै त्यस्तो बलियो र अचुक अस्त्र हो जसले प्रेम, सद्भाव, विश्वास र समर्पणमा सांसारिक खुशी, सुख आनन्द र सद्भाव पाउँछ । भगवान गौतम बुद्धले प्रेम सिकाए, देखाए जसको फलस्वरूप आज पर्यन्त अरु हजारौं जुनी, पृथ्वीको आयु रहेसम्म गौतम अमर, अजर र अविनाशी रहन्छन् । उनको शान्तिवादी दर्शन र अहिंसात्मक अध्याय सधैं सान्दर्भिक र गुणग्राही भएर संसारमा दिग्विजयको ज्योति प्रज्वलित भैरहन्छ । उनले घृणा बर्जित गरे । घृणाको बन्देज भनेको अहिंसा पनि हो । अहिंसा हत्या र घातमा मात्र सीमित छैन, आजकल हिंसालाई वाणीद्वारा निर्मित हिंसाको रुपमा पनि बुझिन्छ । यानेकि कटु बोलेर अरुप्रति गरिने हिंसा, परपीडक ग्रन्थीको प्रभावमा गरिने क्षुद्र र खराब बोली पनि हिंसाको रुप हो । परपीडन अरुलाई पीडा दिएर प्राप्त हुने खुशी, स्वपीडन आफैंलाई पीडा दिएर प्राप्त हुने तुष्टि यी दुवै हिंसाका रुप हुन् ।

हिंसा परित्यक्त चिज हो, ग्रहणशील त प्रेम, शान्ति, सद्भाव र समभाव हो । गौतम बुद्धले आफ्नो अपमान गर्ने, आफुलाई ध्यानमग्न अवस्थामा रहेको बेला पिट्ने, अभद्र ब्यवहार गर्ने, सामाजिक रुपमा बेईज्जत गर्ने कसैकाप्रति पनि बदला र अपमान गरेनन्, बरू प्रेमको मार्गद्वारा नै तिनीहरुलाई आफ्नो अनुयायी बनाउन सके । आफ्नो अनन्य भक्त बनेर आउन बाध्य बनाए । अपमानको बदला अपमान सोचेको भए गौतम बुद्ध भगवानको रुपमा रहदैंनथे, तुच्छ मानवमा सीमित रहन्थे । आजको मान्छे चेतनाको उच्चस्तरमा पुगेर शिक्षा दीक्षा लिएको मान्छे अझै बदला, घृणा र क्रोधबाट नै सबै कुराको समाधान चाहन्छ । जुन नितान्त गलत र मान्छेभित्रको आसुरी प्रवृति हो । घातक चिन्तन र पशुत्वको झल्को हो । मान्छे निषेधलाई पौरख सम्झन्छ । निषेध कुनै पनि कुराको सामधान हुँदै होइन, झन् सामान्य कुरामा निषेध, एक अर्काको बुझाइमा कमी हुँदाको निषेध, गलत गराईभन्दा गलत बुझाइको कारण पैदा भएको निषेध झन् घातक र आत्मघाती छन्, हुन्छन्, देखिएको छ ।

दुरी बढाएर कुनै पनि कुराको उपचार भेटिन्न । जति सक्यो दुरी कम गरेर सामिप्यमा रहेर जिन्दगीमा रहेका, देखिएका र भैपरिआएका असमझदारी र गत्यावरोध हटाउन सकिन्छ । गलत गराइले कम, गलत बुझाइले धेरै सम्झौता र करारनामाहरु भंग भएका छन्, सामान्य जिन्दगीका ब्यवहारहरुमा ताल बेताल देखिएका छन् । अहिले झन् सामजिक संजालमा छिटै जोडिने र छिटै तोडिने विकृतिको क्रम बग्रेल्ती चलेको छ । भगवानहरु राक्षस र राक्षसहरु भगवानमा अनुवाद भएको पाइन्छ । यतै देखिएका, समाजमा पैदा भएका व्यवधान र परिस्थितिको सहजताको लागि केही अनुभव र अनुभूति अनि समभाव र सामाजिक घटना नियाल्दा आएका भावहरुको संयोजन गरी आफ्ना निष्कर्ष अभिव्यक्त आजको लेखको सार हुनेछ ।

जताततै छताछुल्ल आक्रोश, घृणा, प्रतिशोध र हिंसा देखिएको छ । सामान्य मनमुटाव, सामान्य असमझदारी बढेर भयानक हिंसा र क्षणभरमै एकले अर्कोलाई सिध्याउने, चरित्र हत्या गर्ने र भौतिक रुपमा नै सखाप पार्ने सम्मका घटना दिनदिनै सार्वजनिक भएका छन् । असमझदारीलाई अनावश्यक तन्काउँदा, जटिल बनेर प्रेमपूर्ण विश्वास, भरोसा, सम्मान र मायाको संसार एकाएक खरानी भएका दृष्टान्त सबैका आँखामा बिझाएको आजको तीतो सत्य हो । असिम लगाव, विश्वास र भरोसाको पहाड रातारात भत्केको देखिन्छ, कारण खोज्दा त्यति भयानक र अपत्यारिलो लाग्दैन केही अपवादलाई छोडेर । सामान्य कुरा सहन नसक्ने, नसहने नाममा सामान्य कुरा पनि सहन गर्ने क्षमता नराख्ने, लघु शंका र लघु सोच नै प्रायः सम्बन्धमा दरार आउने कारणको रुपमा मैले खोज्दा भेट्टाएको तथ्य हो । तथ्य धेरै छन् र हुन्छन्, धेरै कोणबाट यसको ब्याख्या विश्लेषण गर्न सकिन्छ तर असमझदारीको कारणलाई जेनेरलाइज गर्दा सामान्य कुरालाई असामान्य ढंगले आफु अनुकुल बुझ्नु र त्यसैमा के, किन, कसरी, कहाँ, को आदि अनावश्यक प्रश्नको घेरामा पुग्नु नै सम्बन्धमा दरार आउनुको प्रारम्भिक कारण हो ।

प्रारम्भिक कारणलाई प्रारम्भिक चरणमा नै एकापसमा बसेर मन खोतिलियो, मन माझियो भने त्यसले प्रत्याशित निकास पाउन सक्छ अन्यथा यो बढ्दै गयो भने अप्रत्यासित र अकल्पनीय स्थितिमा नपुर्‍याउला भन्न सकिन्न ।

आकस्मिक रुपमा गलत बुझाई र सोचाइले पैदा भएको घृणा किन हिंसात्मक बन्छ ? गलत बुझाईको कारण एक अर्कामा मान्छेहरु क्रोधित बन्छन् र भोलि र एकछिन पछिको परिणामको ख्याल गर्दैनन् र जे पनि बोल्छन्, भन्छन । कहावत नै छ नि, रिसको झोकमा मान्छेले बेद पुराण पढेर बस्दैन, तथानाम बोल्छ र आफुलाई ठिक देखाउन अर्कोलाई गलत चित्रित गर्न हुने–नहुने सबै बोल्छ र आफ्नो तर्क बलियो पार्न खोज्छ । यो मानवीय स्वभाव हो तर यो दुर्बलता पनि हो । यतिबेला दुवै पक्ष धैर्य गर्न सक्दैनन् र लाञ्छना, आरोप र गालीको हद नाघ्न पुग्छन । एकार्कामा चरम घृणा बोक्छन् । घृणा आफैंमा हिंसा हो । हिंसाको मात्रा मान्छेको स्वभाव र जिन अनुसार, परिस्थितिजन्य अवस्थानुसार फरक हुन्छ तर दुवैले हिंसाको सहारा लिएका हुन्छन् । यस्तो हिंसा कम गर्न, पुनः समझदारी बढाउन के गर्ने त ? बुद्धले भने झैँ संसारमा दुःख छ तर दुःखको कारण छ– हिंसा, बदला, अभिमान, प्रतिशोध र घमण्ड । सबै संसारिक दुःख हुन् । मानवीय दुर्वल चरित्र हुन् ।

दुःखको समाधान क्रोध र घृणाको प्रकृतिलाई दुवै तर्फबाट मनन गर्ने । हरेक घटना र झगडाको कारण सामान्यभन्दा सामान्य रहेको हुन्छ यदि कसैले कसैलाई म तँसँग रिसाउछु भन्यो भने त रिसाए केही हुन्न भन्ने जवाफ दिनुको सट्टा रिसाउनु नराम्रो कुरा हो, नरिसाउ है मात्रै भनिदिदा पनि कति फरक पर्छ । त्यति मिठो जवाफले रिसको पारो आफ से आफ घट्न सक्छ । हिंसाको निवारण र आधारलाई कहिल्यै अहमको बिषय बनाउनु हुन्न । सम्बन्ध भएको कारण नै कहिलेकाहीँ समस्या आउने हो । आफ्नै मान्छेसँग, विश्वास गरिएको मान्छेसँग पैदा हुने सामान्य भ्रमलाई ठुलो र आपत्तिको विषय बनाउनु हुन्न, बनेमा समझदारीको मार्ग अवलम्बन गर्नुपर्छ । आपसी समझदारीको लागि जसले प्रायश्चित गरेर बोले पनि अहम् नलिए समस्याको समाधान छिटै निस्कन्छ । वर्षौंको विश्वास पलभरको असमझदारीभन्दा बलियो हुन्छ, यदि समझदारीमा पुग्ने चेष्टा हो भने ।

गाली गर्दा, रिसाउँदा भनेको कुरालाई प्रमाणित गर भनेर अड्को थापियो भने समस्या अरु बल्झन्छ । आवेगमा भनिएको कुराको प्रायश्चित भन्नेले गर्नुपर्छ अनि भनि माग्नेले पनि नियोजित घृणा र बदलाको भावबिना आक्रोशलाई क्षमादान दिएर सहज बनाउनु पर्छ । संसारमा सबैभन्दा ठुलो दान भनेर क्षमादानलाई बुझिन्छ, परिभाषित गरिन्छ । क्षमादान गरिदिने मान्छे कहिल्यै सानो हुँदैन । क्षमादान पनि स्मृतिमा राखेर हैन, विस्मृतिमा धकेलेर लिनु–दिनुमा यसको महत्व र गरिमा छ । आकस्मिक अपराध कानुनले समेत सजायको कम भागीदार ठहर्छ भने पारस्परिक मिलनको लागि यो असमझदारीको विषय बन्नु र बनाइनु उचित हुन्न । एकछिनको विनम्रता, प्रायश्चित र असल नियतले खराब हुन लागेको सम्बन्ध, अपराधीकरण उन्मुख ब्यवहारमा बदलाव आएर सुख, शान्ति र आनन्दको संसार भेटिन्छ भने घृणा, बदला, अपमान, आक्रोशलाई प्रेम, विश्वास सद्भाव, आदर र आदर्शमा रुपान्तरण किन नगर्ने ? रिसको आवेग पागलपन हो नियोजित पागलपन र आकस्मिक पागलपनमा धेरै अन्तर रहन्छ । वैरभावमा पीडा दुवै पक्षले भोगेको हुन्छ । कसैले कसैलाई सताउँदा सताउने पनि पीडामुक्त हुँदैन । आकस्मिक रिस पागलपन क्षमायोग्य हुन्छ । त्यसैले नियोजित पूर्वाग्रहपूर्ण आवेगलाई रोक्न बढी समय, बढी मेहनत लाग्छ । त्योभन्दा क्षणिक आवेग र क्रोधलाई रोक्न कम समय र सानो सावधानी, समन्वयले पनि सकिन्छ ।

व्यक्तिगत घटनामा आफैँ दुवै पक्ष बसेर समस्या सामाधान गर्ने, एक बसाईमा भएन भने अर्को बसाई रोज्ने, सकभर आफैँ समाधान निकाल्ने । यदि त्यसो गर्न सकिएन भने विश्वासिलो दुवैको भरपर्दो, सकभर नाताको मान्छे नभए त्यस्तै भरोसायोग्य साथीको मध्यस्थता रोज्न सकिन्छ । अशान्तिबाट शान्तिमा पुग्नु भनेको हिंसारहित सिर्जनात्मक अवस्था हो । मनमा अशान्ति, अविश्वास र द्विविदा बोकेर बस्नुभन्दा शान्तिको स्वाश लिनु श्रेयस्कर छ । अशान्ति, मनोमालिन्य प्रगतिको बाधक हो । अशान्तिले चैन हराउँछ । केही सहँदा, बुझ्दा शान्ति र आनन्द प्राप्त हुन्छ भने किन अशान्त र विचलित भएर आफुलाई रोगाउने ? घृणा र अभिमानलाई केवल प्रेमले परास्त गर्न सकिन्छ । आपसी विश्वासको पहिलो शर्त भनेको स्वीकारोक्ति अर्थात त्रुटी, गल्ती, कमी कमजोरीको रियलाइजेसन हो । सौहार्द्रतापूर्वक कमजोरी आत्मसाथ गर्नाले विश्वासको वातावरण अरु फराकिलो र हार्दिक बन्छ । प्रेम रुपी हतियार चलाउन गौतम बुद्ध हुनु पर्दैन, महात्मा गान्धी बन्नु पर्दैन, जुनसुकै घर, खानदान, शिक्षित, अशिक्षित, कुलिन अकुलिन, राजा, रंक सबैले सक्ने कुरा हो । मात्र मान्छेको मनभित्र विवेक हुनुपर्छ । विवेकी बन्न जात, धर्म, संस्कृति, रुप, रङ र आकारले बन्देज गर्दैन । प्रेम रुपी हतियार उदात्त हृदयको परिचायक हो । धारिलो प्रेमको हतियार बोकौं, बौद्धिक र कलात्मक ब्यवहार रोजौं, समयले दुखाएका घाउहरु समयको मलमपट्टिले नै ठिक हुन्छ । प्रेमले मृत्युलाई जित्न सक्दैन अरु सबै सांसारिक बस्तुलाई प्रेमले सजिलै परास्त गर्न सक्छ । मृत्यु पनि प्रेमको कारण सहज बन्न चै सक्छ । घृणा बर्जित, प्रेम आर्जित गरौं, बुद्ध भूमिमा प्रेमले सिंचन गरौं । घृणा, अभिमान,अपमान भनेका अन्धकारका प्रतिक हुन्, हाम्रो रोजाई उज्यालो हो, उज्यालो प्रेमले अनुभूत गराउँछ । क्षणिक रुपमा लाग्ने बादल र तुँवालोलाई उज्यालोले हटाउने सामर्थ्य राख्छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...