सावधान ! काठमाडौंमा चोरीका घटना बढे, चोरका नयाँनयाँ तरिका (भिडियो)

news

दीपक श्रेष्ठ/राममान डंगोल/राजेन्द्र नापित (इमेज)

काठमाडौं, असार २७ । काठमाडौंमा चोरीका घटना बढ्न थालेका छन् ।

चोरीमा संलग्न हुनेहरुले नयाँनयाँ तरिकासमेत अपनाउन थालेका प्रहरीले जनाएको छ ।

चालू आर्थिक वर्षको तथ्यांक हेर्दा काठमाडौंमा चोरीका पाँच हजार ९७४ ओटा उजुरी प्रहरीकोमा दर्ता भएका छन् ।

ती घटनामा संलग्न रहेको आंशमा प्रहरीले ८ हजार १७२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ७ हजार ४८६ पुरुष र ६८६ जना महिला छन् ।

९० प्रतिशत चोरीका घटना दिउँसोको समयमा हुने गरेको देखिएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंका प्रहरी उपरीक्षक नरेन्द्रकुमार उप्रेतीले बताए ।

काठमाडौंको तुलनामा ललितपुर र भक्तपुरमा चोरीका घटना निकै कम भएको तथ्यांक प्रहरीसँग छ ।

चालू आर्थिक वर्षको हालसम्म भक्तपुरमा ५३ ओटा चोरीका घटना भएका छन् । घटनामा संलग्न रहेका ८९ जनालाई कारबाही गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

त्यस्तै, ललितपुरमा ४१ ओटा चोरीका घटना भएकामा ७८ जनालाई कारबाही गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख गणेश ऐरले जानकारी दिए ।

चोरीमा संलग्न हुनेहरुले नयाँनयाँ तरिका अपनाउन थालेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा फोहोर उठाउने, बिजुली वा पानीको मिटर रिडिङ गर्ने, डेरा खोज्ने, कवाडी संकलन गर्नेलगायतका बहाना बनाएर चोरी गर्ने गरेको देखिँदै आएको प्रहरीको भनाइ छ ।

केही दिनअघिमात्र काठमाडौंको डल्लुमा कवाडी संकलन गर्ने बहानामा सोनी श्रेष्ठको घरबाट ३१ लाख रुपैयाँ बराबरको धनमाल चोरी गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेपछि यस्तो रहस्य खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले बताए ।

वर्षात्को समयमा धेरैजसो मानिसहरु काममा बढी व्यस्त हुने गर्दछन् । सुनसान भएका बेला चोरले बढी निगरानी गर्नसक्ने भएकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया