नेविसंघमा अध्यक्षसँग असन्तुष्ट समूहद्वारा १२औं महाधिवेशनको घोषणा

news

काठमाडौं, असार २७ । नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले संगठनको १२औं महाधिवेशनको मिति घोषणा गरेको छ ।

संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको भनिएको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपुरमा महाधिवेशन गर्ने निर्णय गरेको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । उनकै संयोजकत्वमा नियमावली तयारी समिति पनि गठन गरिएको छ ।

समितिलाई नियमावली तयार पार्न पाँच दिनको समय दिइएको जनाइएको छ ।

यस्तै, अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ ।

उपाध्यक्ष नवीन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए ।

महाधिवेशन सम्पन्न गर्न प्रचार–प्रसार समिति, आवास तथा भोजन व्यवस्थापन समिति, शैक्षिक प्रतिवेदन समिति, सांगठनिक तथा राजनीतिक प्रतिवेदन समिति, स्वयंसेवक परिचालन समिति, मन्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, खानेपानी, यातायात, विवाद निरुपण र आर्थिक  समिति गठन गरिएको छ ।

बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधानविपरीत गरेका मनोनयन खारेज गरेको घोषणासमेत गरेको छ ।

विधानबमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमतबाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया