अध्यक्ष दाहालसँग विश्व बैंकका प्रतिनिधिको भेट

news

काठमाडौं, असार २८ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसले भेट गरेका छन् ।

बिहीबार बिहान अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका बिषयमा छलफल भएको बताइएको छ ।

भेटमा अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताए । उनले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको बताए ।

‘हामीसँग तीनवटा (स्थानीय, प्रादेशीक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं,’ उनले भने, ‘जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।’ उनले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत परियोजनाहरु र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताए ।

भेटका अवसरमा कन्ट्री म्यानेजर जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरे । उनले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताए ।

जर्वोसले भने, ‘हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौं र सरकारको मातहत बसेर काम गछौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।’

नेपालको विकासमा उच्च प्राथमिकतामा रहेको कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

म्यानेजर जर्वोसले विकास निर्माण भन्ने कुरा कुनै जागिरमात्र नभएर एक यात्रा रहेको बताए । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया