बालिकाको मृत्यु प्रकरण नयाँ मोडमा, ‘असन्तुष्ट कर्मचारीले गोप्य कागजात सार्वजनिक गरे’

news

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, वैशाख २६ । फरक रक्त समूहको कारण ज्यान गुमाएकी पाँच वर्षीया आकृतीकुमारी साहको मृत्यु प्रकरण नयाँ मोडमा पुगेको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्माले स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवसँग भेटेर अस्पतालभित्रकै असन्तुष्ट कर्मचारीले गोप्य कागजपत्र सार्वजनिक गरेको तथा गलत रक्त समूहको घटना बढाइ–चढाइ गरेको बताएपछि यो घटनाले नयाँ मोड लिएको हो ।

पीडितपक्षकाअनुसार ‘ओ’ पोजेटिभ रक्त समूह भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइयो । जसका कारण उनको मृत्यु भयो ।

तर, यो कुरा मान्न अस्पताल तयार भएन ।

अस्पतालले छानबिन गर्ने भनेपनि परिवारलाई विश्वास नलागेपछि आकृतिको परिवार फरक–फरक तथ्य भएको मेडिकल रिपोर्ट लिएर न्याय माग्दै स्वास्थ्य मन्त्रालयसम्म पुगेको छ ।

परिवारले जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल मेडिकल काउन्सिलमासमेत मुद्दा दर्ता गराएका छन् ।

आकृतिका परिवारले बुधबार स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई भेटेर दोषीलाई दन्ड तथा क्षतिपूर्तिको माग गरे ।

तर, बुधबार नै उनीहरु पुग्नुभन्दा केहीअघि गंगालाल अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्मा राज्यमन्त्रीलाई भेट्न पुगेका थिए ।

राज्यमन्त्री यादवले हामीसँगको कुराकानीमा डा. शर्मासँग भएको भेटबारे जानकारी दिए ।

भेटमा अस्पतालका निर्देशक शर्माले अस्पतालसँग असन्तुष्ट कर्मचारीका कारण यो घटना बढेको ‘रिपोर्टिङ’ गरेका रहेछन् ।

उनले राज्यमन्त्रीसामु शल्यक्रियाकक्षमा दिइएको रगतको रिपोर्ट र ल्याबको रिपोर्ट अस्पताल एवं आफूसँग असन्तुष्ट समूहले आकृतिको परिवारलाई दिएको राज्यमन्त्री यादवलाई बताए ।

मन्त्रीलाई रिपोर्टिङ गर्न पुगेपनि अस्पतालले अहिलेसम्म आकृतिकुमारी साहको मृत्यु प्रकरणबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

परिवारले शव नबुझ्ने तथा छानबिन र दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राखेपछि अस्पतालले छानबिन समिति बनाएको मन्त्री यादवसमक्ष बताइएको छ ।

बुधबार दुवै पक्षको कुरा सुनेका राज्यमन्त्री यादवले अस्पतालले छानबिन समिति बनाएको छ भन्दै मन्त्रालयले पनि सत्यतथ्य छानबिन गर्ने बताएका छन् ।

उनले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नेपनि बताएका छन् ।

पीडितपक्षभन्दा पहिल्यै अस्पतालका पदाधिकारीलाई भेटेका राज्यमन्त्री यादवले पनि ‘आक्कल–झुक्कल यस्ता घटना हुने’ बताएका छन् ।

अस्पतालका अन्य कर्मचारीलाई निर्देशक शर्माले दोष लगाएपछि यो घटना रहस्यमय बन्दै नयाँ मोडमा पुगेको हो ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...