महाभारतकी कुन्ती-३३

news

-हरिविनोद अधिकारी

सञ्जय किन हो, झर्केर हिँडेपछि मलाई लागिरहेको छ, अब  हाम्रो अन्तिम अवस्था आएको हो । जस्तो मैले अठोट गरेर नै जेठाजु र जेठानी दिदी गान्धारीको सेवामा आएकी हुँ । जीवनभर मेरा वपच । छोराहरुलाई कसरी सिध्याउने भनेर लागिरहने  जेठाजुको सेवा गर्नु पर्ने मेरो खासै कर्तव्य थिएन र पनि हिजो पो उहाँहरुको वर्चस्व थियो, आज त पानीसम्म पिलाउने कोही नभएको बेलामा मैले राजमाता बनेर हस्तिनापुरमा बस्नु हुँदैन थ्यो र बसिन पनि । लोक अवगालबाट बच्न छोराहरुसँगै वनबास नगएर हस्तिनापुरमै बसेकी मलाई राज्यको सम्पूर्ण भोगविलास छोड्नु कुनै ठूलो कुरो थिएन । छोडेँ र सेवामा आएँ ।

यतिबेर एउटा अपेक्षित समयसँग भेटघाट हुने बेला भएको महसुस गरेकी छु । मृत्यु वास्तवमा एक अपरिहार्य र अपेक्षित कार्य हो । जन्मनु बरु अनिवार्य  होइन, विभिन्न प्रक्रिया मिल्नुपर्छ जस्तो कि मैले नै कर्णदेखि अर्जुनसम्म पाउँदा कतिओटा अपमान,कति आवश्यकता र कति अनपेक्षित लाञ्छना खपेकी थिएँ । मलाई थाहा थियो—मेरा सन्तानका वारेमा हस्तिनापुरमा कस्तो व्यवहार गरिने छ ? र मलाई यो पनि थाहा थियो, पितामह ठीक बेलामा कुनै निर्णय दिनुहुन्न । उहाँलाई एउटै घमण्ड थियो , म कुरुवंशको अन्तिम कुलमणि हुँ । एउटै कामना थियो—आफू बाँचुन्जेल भरतको भारतलाई कसैले खोट लगाउन नसकोस् र विखण्डन पनि गर्न नसकोस् । र यो पनि थाहा थियो—वृष्णिवंशीय कन्याबाट उत्पन्न राजकुमारले नै भारतको राज्य गर्नेछ । बारम्बार मलाई ढाढस दिनु हुन्थ्यो तर आपूmले गरेको अनिर्णयका कुराहरुलाई कहिल्यै पश्चातापको आगोमा झुल्सिएको कुरा बाहिर देखाउन चाहनु हुन्थेन । उहाँमा मेरो भदाहा कृष्णप्रति भने साह्रै भरोसा थियो र त इन्द्रप्रस्थमा भएको राजसूय यज्ञमा प्रमुख अतिथिको रुपमा कृष्णलाई वरण गर्नका लागि संकल्प गर्न तयार हुनु भएको थियो र त्यस्तै आदेश दिएकाले युधिष्ठिरले पनि संकल्प गरेको थियो । हुन त शिशुपालको त्यहीँ अन्त्य भयो । त्यो विवादको कारण त पहिले नै तय रहेछ । पूर्व जन्मको लेखान्त नै त्यस्तै रहेछ ।

हामी यहाँ मैले यसो गरेँ, उसले यसो गर्‍यो भनेर विवाद गछौँ अनि विवादका माझमा निर्णय वा अनिर्णय गरेर आफूलाई निर्णायक देखाउँछौँ । तर जन्म हुँदादेखि नै सबै कुराको छिनोफानो भएको हुँदो रहेछ पूर्व जन्मको कारणले , त्यही पूर्व जन्मका कारणले कति जन्मसम्मको निर्णय भएको हुँदो रहेछ । जस्तो कि पितामहको कुरा । उहाँको कुनै जायजन्म नहुने तय त्यही बेलामा नै भएको रहेछ जुन बेलामा वसुहरु गङ्गाको गर्भमार्फत् पृथ्वीमा जन्मने र अरु वसुहरु जन्मँदै मारिने अनि आठौँ वसुमात्र पृथ्वीमा बसेर पृथ्वीको भार हर्ने व्यवस्था गर्ने । कुनै सन्तान नपाउने । कुनै विवाह नगर्ने । अनि शान्तनु महाराजको विवाह गर्नका लागि राजमाता सत्यवतीको व्यवस्था गर्नका लागि विवाह नगर्ने भीष्मव्रत लिएको देखाउनु पर्ने ।  त्यही कर्णको कुरा, त्यही अभिमन्युको कुरा सबै पहिले नै निर्धारण गरेर भएर आएका रहेछन् ।

यतिवेर ममात्र कृष्णको ध्यान गर्न चाहन्छु । अब समय पनि धेरै छैन । जसरी गङ्गा विना अवरोध पहाडबाट झर्दै नदीको रुपमा समुद्रतर्फ आकर्षित हुन्छिन् , अहिले म पनि कृष्णतिर मात्र आकर्षित भएकी छु । एउटै चेतनाको स्वरुप, सबै म नै हुँ भनेर अर्जुनलाई विश्वरुपको दर्शन दिने मेरो भाइ, जो सँसारको तारणहारको रुपमा आएका छौँ । अहिले कुन रुपमा कहाँ छौँ मलाई थाहा छैन किनभने तिमी लीला गर्न आएका छौँ । गणित झैँ संसारलाई नैतिकताको बाटोमा हिँडाउनका लागि तिम्रो अवतार भएको हो । तिम्रो जन्मपछिको आजसम्मको समयलाई म अहिले स्मृतिमा ल्याउन चाहन्छु । मलाई हस्तिनापुरबाट हिँड्ने बेलामा कानमा सुटुक्क भनेका थियौ-पृथा फुपू , गान्धारीले जुन श्राप मलाई दिनु भयो नि , त्यो मैले उहाँबाट श्राप पाउनका लागि नै उहाँलाई उत्तेजित बनाएको थिएँ किनभने अबको मेरो कर्म नै वृष्णि वंशको अराजकताबाट संसारलाई बचाउनु हो । भर्खरै कुरुवंशीको गृहकलह मार्फत् अराजकताको अन्त्य गरेँ , अब मेरो अन्त्यपछि झन के होला भनेर आफू बाँच्दै यदुवंशीको अराजकताको पनि अन्त्य गरेर परमधाम जाने छु । त्यसरी गएको कृष्णले माया नै मार्‍यो, फर्केर एकपटक पनि वानप्रस्थाश्रममा रहँदा कोही माइती पनि आएनन् ।

यो विश्वमा कहिले पनि अधर्मको बोलबाला भयो भने फेरि फेरि पनि म आउँछु भनेर तिमीले अर्जुनलाई भनेको कुरा बारम्बार सञ्जयले सुनाउँथे । अधर्मको बोलबाला कलियुगमा हुनेछ भनेर तिमीले मलाई भन्थ्यौ र भन्थ्यौ-दिदी , सबै म नै हुँ र म नै विभक्त भएर संसारलाई चलाएको हुँ । संसार एउटा प्रकृतिको देन हो जुन नियममा मात्र चल्छ, बेनियममा चल्नै सक्दैन । जस्तो कि सूर्यको गति, चन्द्रको गति र ऋतुको लय नै प्रकृति हो र म नै प्रकृति हुँ भनेर भन्थ्यौ ।

मैले एउटा कुरामा भने कहिल्यै सम्झौता गरिन, त्यो के भने दुःखमा मात्र भगवानको आराधना गरिँदो रहेछ, त्यसैले मलाई कहिल्यै दुःखले नछोडोस् भनेर खोजी खोजी  दुःख बेसाएँ र सधैँ तिमीलाई मात्र सम्झिरहेँ । तिमीलाई सम्झनुमा पनि मेरो ठूलो स्वार्थ छ, त्यो के भने तिम्रो स्मरणले अब फेरि यो संसारमा आइरहनु पर्नेछैन । बारम्बार अब जन्म र मृत्युलाई भोग्नुपर्ने छैन । हे कृष्ण, अब म तिमीलाई ईश्वर नै भन्छु, भगवान नै भन्छु । भगवान प्राप्त गर्न भौतिकताबाट क्लान्त, थकित, अकिञ्चन र विमोहीलेले मात्र सक्छन्, त्यसैले मैले कहिले पनि भौतिक सुखमा आफूलाई रमाउन चाहिन किनभने मलाई तिम्रो शरणमात्र आवश्यक थियो । त्यो पाऊँ , मात्र त्यही कामना छ । शरणागती नै मेरो एकमात्र इच्छा हो । मलाई मात्र होइन कृष्ण, धृतराष्ट्र महाराज , गान्धारी महारानीसमेतलाई शरणागती तिमीले दिनैपर्छ ।

यतिबेर मैले तिम्रो त्यो विश्वरुपमात्र सम्झेकी छु जुन अर्जुनले देखेको थियो, सञ्जयले देखेका थिए अनि मेरी भाउजुहरुले देखेका थिए । तिमी जन्मँदा र  माटो खाएकोमा मैले कहाँ माटो खाएँ र भनेर मुख बाउँदा देखिएको विश्वरुप । तिमीप्रतिको आस्थाले नै म र मेरा सन्तानको जीवन चर्या चल्यो तिम्रो अवतरणपश्चात् । हाम्रो रक्षा गर्ने अरु को पो थियो र यो संसारमा ? तिमीले नै गर्‍यौ । अन्तमा उत्तराको गर्भको त्यो परीक्षितलाई तिमीबाहेक कसले पो बचाउन सक्थ्यो र ? बचायौँ । अब यो संसारको जिम्मा तिम्रै हो । मेरो अर्को जुनी पनि नहोस् । अहिले पनि तिम्रो रुपमा म मोहित छु । मैले आँखा चिम्लिएको धेरै बेर भयो । मलाई थाहा छ, अब त्यो डँढेलो मनेर आइपुग्नै आँट्यो । मेरो शरीमा अग्निको लप्काले स्पर्श गर्न थालेको मैले महसुस गरिरहेकी छु । मलाई यो बेलामा अग्नि समाधि लिन पटक्कै कुनै ग्लानि पनि छैन, कुनै पीडा पनि छैन । मलाई थाहा छ, हाम्रो अन्त्य तिमीलाई बाहेक अरु कसैलाई थाहा थिएन र तिमीले मेरो आग्रहलाई मान्नका लागि युधिष्ठिरलाई सङ्केत गरेका थियौ । अब हाम्रो अन्त्यको खबर नारदजीबाहेक कसैले पनि हस्तिनापुर लैजान सक्दैन किनभने सञ्जय सायद बदरिकाश्रमबाट फर्कने छैनन् ।

मृत्यु कति अपेक्षित र प्रतीक्षित हुन्छ , अनि कति मधुर हुन्छ भन्ने कुरा मैले अहिले अनुभूत गरिरहेकी छु । सत्य भनेको नै मानव जीवनको अन्त्य हो । त्यसको प्रतीक्षाको घडी अब समाप्त भएको छ । संसारमा केही पनि स्थायी छैन । अहिले मैले चारैतिर कृष्णलाई मात्र देखेकी छु किनभने आँखा चिम्लेर अग्नि समाधिको तयारी जो गरेकी छु । हाय कृष्ण, अब तिमीबाहेक कोही पनि सहारा छैन मेरो र यो संसारको । हे कृष्ण, हे कृष्ण, हे कृष्ण, आजसम्मका सबै पापहरुको प्रायश्चित गर्दै अब म विदा भएँ । समाप्त ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...