केन्द्र सारिएको विरोधमा फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा तालाबन्दी

news

जितेन्द्र भण्डारी

पाँचथर, वैशाख ३१ । गाउँसभाबाट पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र सारिएको विरोधमा आज फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा पञ्चमीवासीले तालाबन्दी गरेका छन् ।

भौतिक पूर्वाधारको असुविधा भएको, अपायक पर्ने ठाउँमा पालिका सारिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले अहिले भएको घुर्बिसे पञ्चमीमै पालिका राख्नुपर्ने भन्दै आन्दोलन गरेका छन् ।

आन्दोलनमा उत्रिएका स्थानीयवासीले पञ्चमी बजार तथा स्थानीय शिक्षण संस्थाहरु बन्द गराएका छन् । पञ्चमीमा केन्द्र नराखिए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने स्थानीय तेजु चेम्जोङले बताए ।

सोमबार बसेको पालिकाको गाउँसभाले फाल्गुनन्द ५ को याम्बाबुङ तल र कोल्बुङ मास्तिर बीचमा केन्द्र राख्नका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको गाउँपालिकाका योजना फाँटका प्रमुख राजेन्द्र भट्टराईले बताए ।

झण्डै एक वर्ष अघि केन्द्र सार्ने विषयमा मतदान हुँदा कोल्बुङ केन्द्रको पक्षमा १९ र पञ्चमी केन्द्रको पक्षमा १८ मत परेको थियो ।

त्यसपछि तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा मुद्दा परेपछि कुनै पनि निर्णय नगर्न भन्दै मुद्दा बदर भएको थियो ।

यस्तै उच्च अदालत इलाममा परेको मुद्दा पनि खारेज भएको थियो । त्यसपछि पालिकाको केन्द्र घुर्बिसे पञ्चमीबाटै संचालन भइरहेको थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...