‘वुमन्स च्याम्पियन्स लिग’का लागि खेलाडी ड्राफ्ट आज

news

काठमाडौं, वैशाख ३१ । नेपालमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिग ‘वुमन्स च्याम्पियन्स लिग’को खेलाडी किनबेच आज हुँदैछ ।

आज साँझ काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खेलाडीको ड्राफ्ट गर्न लागिएको आयोजक क्वीन्स ईभेन्ट मेनेजमेन्टले जनाएको छ ।

खेलाडीलाई उनीहरुको स्तर र क्षमता अनुसार चार समुहमा राखेर ड्राफ्ट गर्न लागिएको हो । आयोजकले डायमण्ड, रुबिज, सफायर्स र वाइल्ड कार्ड ईन्ट्री गरि चार समूहमा खेलाडी विभाजन गरेका छन् । राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका वर्तमान टिमका सदस्यलाई डायमण्ड श्रेणीमा राखिएको छ ।

त्यस्तै, रुबिजमा उमेर समूहका राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी समावेश छन् । सफायर्समा घरेलु टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई राखिएको छ भने ट्यालेन्ट हण्टबाट आउने खेलाडीलाई वाईल्ड कार्ड ईन्ट्रीमार्फत प्रतियोगितामा समावेश गरिँदैछ ।

खेलाडीको संख्या थोरै भएकाले लिलामी नगरिएको आयोजकको दाबी छ । प्रतियोगिता खेल्नका लागि १०७ जना खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगितामा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्स गरी ५ टिम सहभागी छन् । प्रतियोगिता असोज ३ गतेबाट ११ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने बताईएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...