पहिलो जितको खोजीमा मनाङ र पन्जाबको भिडन्त

news

काठमाडौं, वैशाख ३१ । एएफसी कप फुटबलअन्तर्गत् समूह चरणको चौथो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले बुधबार भारतको मिनेर्वा पन्जाब फुटबल क्लबसित खेल्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलका लागि मिनेर्वा पन्जाबका खेलाडी सोमबारै काठमाडौं आइसकेका छन् ।

खेलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले खेल जित्ने दाबी गरेका छन् ।

‘होम एन्ड अवे’का आधारमा जारी एएफसी कप फुटबलमा मनाङका लागि यो चौथो खेल हो भने आफ्नै मैदानमा दोस्रो खेल हो । यसअघि, मनाङले यही मैदानमा बंगलादेशको अबहानी लिमिटेडसित खेलेको थियो ।

पछिल्लोपटक मिनर्वा पन्जाबसित उसैको मैदानमा २–२ गोलको बराबरी खेलेको मनाङ सुरुआती दुई खेलमा अबहानी लिमिटेड र चेन्नाइन एफसीसित पराजित भएको थियो ।

मिनेर्वाले भने प्रतियोगितामा लगातार तीन खेलमा बराबरी गरेको छ । मनाङ प्रतियोगितामा पहिलो जितको खोजीमा छ ।

एएफसी कप फुटबलको समूह ‘ई’मा रहेको नेपाल अहिलेसम्म १ अंकसहित पुछारमा छ । दुई खेलबाट ४/४ अंक जोडेका चेन्नाइन एफसी र अबहानी लिमिटेड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको मिनेर्वाको ३ अंक छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...