महानगरीय प्रहरी परिसरका चुनौती

news

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)

काठमाडौं, वैशाख ३१ । महानगरीय प्रहरी परिसर काठमाडौंमा नियुक्त भएर आउने प्रत्येक प्रहरी अधिकृतले काठमाडौंमा अपराध नियन्त्रण गर्ने, गुन्डाहरुलाई ठीक लगाउने, संगठित अपराध कम गर्नेलगायतका वाचा गरिरहेका हुन्छन् ।

तर, परिणाम के रह्यो भन्ने प्रश्न उठिरहेको हुन्छ । किनकि, उ परिवर्तन भएपछि आउने अर्को अधिकृतले पनि यस्तै वाचा गरिरहेको हुन्छ ।

महानगरीय प्रहरी परिसरको प्रमुखमा भर्खरै एसएसपी उत्तम सुवेदी नियुक्त भएका छन् ।

नियुक्त हुनेवित्तिकै उनले पत्रकार सम्मेलन गरेर ‘टोले गुन्डा’लाई नियन्त्रणमा लिने, मौलाउँदो सामाजिक विकृति–विसंगतिलगायतका अपराध नियन्त्रणको वाचा गरेका छन् ।

परिसरका प्रत्येक प्रमुखले नियुक्त हुनेवित्तिकै यस्तै वाचा गरिरहेका हुन्छन् । तर, ऊ पदबाट हट्दा कति पूरा भयो कतै रेकर्ड पाइँदैन ।

हुन त अपराध नियन्त्रण गर्नु प्रहरीको कर्तव्य र दायित्व भएकाले वाचा गर्नु स्वाभाविक लाग्नसक्छ । तर, परिणाम के भयो ? अपराध कम हुँदै गएको छ वा झन् बढ्दै गएको छ ? यो मुख्य सवाल हो ।

अपराध नियन्त्रणमा दत्तचित्त नेपाल प्रहरी अहिले विभिन्न अपराधकेन्द्रित विशेष ब्यूरो नै बनाइ सक्रिय भएको छ । समय–समयमा विभिन्न अभियान पनि सन्चालन गरिरहेको छ ।

यिनैमध्येको एक हो, सांगठनिक अपराध नियन्त्रणका लागि सुरु गरिएको समुदाय–प्रहरी साझेदारी । तर, यसमा आशातित सफलता हात लाग्न सकेको छैन ।

प्रहरीमा दर्ता भएका तर अपराधी पत्ता लाग्न नसकेका मुद्दाहरुको परिसरमा चाङ नै छ । बलात्कार, हत्या, लुटपाट तथा चोरी–डकैतीका अपराध दिन–प्रतिदिन बढ्दै गएका छन् ।

यसकारण परिसरको प्रमुख भएर आउने अधिकृतले पदभारग्रहण गर्नेवित्तिकै गर्ने वाचाभन्दा बिदाइ हुँदै गर्दा कति सफलता हात प¥यो भन्ने परिणामको तथ्यांक महत्वपूर्ण हुनसक्छ ।

अर्कोतर्फ अपराध भएपछि गरिने नियन्त्रणभन्दा अपराध नै हुन नदिने वातावरण पनि प्रहरीले निर्माण गर्न सक्नुपर्छ ।

प्रहरीका लागि निर्मला पन्त हत्याकान्ड चुनौती बनिरहेको छ । काठमाडौं परिसर प्रमुखका लागि राजदूत केशव झाको हत्या प्रकरण, ‘तपस्वी’ रामबहादुर बम्जनलगायतका प्रकरण अहिले पनि चुनौतीकैरुपमा छन् ।

यसैगरी, सहरकेन्द्रित सांगठनिक अपराधहरु बैंकिङ कसुर, लेनदेन र चेक बाउन्सका मुद्दाहरु, यौनदुर्व्यवहार तथा गुन्डागर्दीका घटना अहिलेपनि परिसरका चुनौतीकैरुपमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...