मौद्रिक नीति केही लचिलो : शर्मा

news

काठमाडौं, असार २८ । नेपाल राष्ट्र बैंकले जारी गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिप्रति निजी क्षेत्रका प्रतिनिधिहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मौद्रिक नीति केही हदसम्म वर्तमान वित्तीय क्षेत्रको समस्या समाधानउन्मुख भएको बताएका छन् ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातमा गरिएको परिवर्तनले बैंकिङ क्षेत्रको करिब ३५–४० अर्ब रुपैयाँ लगानीयोग्य हुनसक्ने तर ८ प्रतिशतको लक्षित आर्थिक वृद्धि हासिल गर्न यतिलेमात्र नपुग्ने उनको टिप्पणी छ ।

अहिले दुईदेखि तीन खर्ब बराबरको लगानी मुलुकका लागि आवश्यक रहेको र यो परिमाणमा लगानी आउने वातावरण बनाउन सरकार र राष्ट्र बैंकले कडै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकले मौद्रिक नीति तदारुकतासाथ कार्यान्वयन गरी यसबाट निस्कने समस्याको तुरुन्तै सम्बोधन गर्दै जाने र सरकारले आर्थिक र वित्तीय सुशासन कायम गर्नसक्ने हो भने लगानी बढ्ने र बजेटको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसकिने शर्मा बताउँछन् ।

मूल्यवृद्धि भने आन्तरिकभन्दा छिमेकी मुलुक भारतीय बजारमा बढी भरपर्ने र नयाँ बजेटले भन्सार बढाएको एवं श्रमिकको न्यूनतम् ज्याला ४० प्रतिशत वृद्धि गरिएका कारण लक्षित साढे ६ प्रतिशतको सीमामा राख्न भने मुस्किल हुनसक्ने शर्माको तर्क छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया