आकृतिको परिवारलाई कानुनविद्को साथ

news

अपडेट:

काठमाडौं, जेठ १ । गलत रगत दिइएका कारण यही वैशाख २३ गते ज्यान गुमाएकी ५ वर्षीया आकृतिकुमारी साहको मृत्युबारे प्रहरीले तत्काल उजुरी बुझेर छानबिन गर्न कानुनविद्हरुले आग्रह गरेका छन् ।

आकृतिको परिवारले बुधबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा कानुनविद्हरुले बालिकाको मृत्यु भएको १० दिन बितिसक्दासम्म प्रहरीले जाहेरी दर्खास्तसम्म नलिने हो भने कानुनी शासनको प्रत्याभूति नहुने बताए ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पीडितपक्षलाई न्याय दिन आफ्नो तर्फबाट पहल गर्ने बताए ।

यस्तै, अधिवक्ता डा. नारायण घिमिरेले अस्पतालको लापरबाही र गलत उपचारका कारण बालिकाको मृत्यु भएको ठहर भए फौजदारी ऐन आकर्षित हुने बताए ।

पत्रकार सम्मेलनमा आकृतिका बुवा रामप्रवेश साहले प्रहरी कार्यालय महाराजगन्ज, महानगरीय प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरकारी वकिलको कार्यालयले उजुरी दर्ता नै नगरेको गुनासो गरे ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा आकृतिको मृत्यु भएको थियो । उनको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

घटना भएको लामो समयसम्म पनि गंगालाल अस्पताल भने यस विषयमा मौन छ ।

यसैबीच, बुधबार पनि मुद्दा दर्ता गराउन महानगरीय प्रहरी वृत्त महाराजगन्ज गएका आकृतिका परिवारलाई प्रहरी नायव उपरीक्षक फडिन्द्र प्रसाइँले सबैको नाम किटानी जाहेरीमा दिँदा अस्पतालको सेवा नै प्रभावित हुने भन्दै उपचारमा संलग्न चिकित्सक र रगत ‘क्रसम्याच’ गराउने व्यक्तिको नाम दिए तत्काल मुद्दा दर्ता हुने बताए ।

पीडितपक्ष भने सो कुरा मान्न तयार नहुँदा बुधबार पनि मुद्दा दर्ता हुन सकेन ।

यससम्बन्धी अघिल्ला समाचार पनि पढ्नोस्

१. गलत रगत दिँदा बालिकाको मृत्यु, भएको के थियो ? आफन्त यसो भन्छन् (भिडियो)

२. गलत रगत दिँदा बालिकाको मृत्युः न्याय माग्दै स्वास्थ्य मन्त्रालय पुगे आफन्त

३. बालिकाको मृत्यु प्रकरण नयाँ मोडमा, ‘असन्तुष्ट कर्मचारीले गोप्य कागजात सार्वजनिक गरे’

४. बालिका मृत्यु प्रकरणः सरकारी निकायहरुबाट किटानी जाहेरी लिन अस्वीकार

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...