‘मदन भण्डारीको लाश भेटाउँदा जागिरको आशा लागेको थियो’

news
सुरेन कुँवर/रासस ।

–हेमबहादुर थापा मगर 

रत्ननगर, जेठ १ । २०५० साल जेठ ४ गते । चितवनको चर्को घाम ।

बिहानको करिब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न चारजनाको समूहमा साथीहरुसँग गएका थियौं । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपर्थ्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थें, त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानकाबीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा पर्‍यो । मलाई लाश हो कि भन्ने लाग्यो ।

साथीहरुलाई लाश देखेको खबर गरें । लाशको नजिकै पुगें । घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा लाश डुबेको थियो । अनि, साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौं ।

लाशलाई ओल्टाइ–पोल्टाइ हेर्‍यौं । आँखाको नानीमाबाहेक अन्य ठाउँमा चोट थिएन । लाश हेर्दा लाग्थ्यो, उठेर बोल्छजस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो । पाइन्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।

लाश पाएपनि मदन भण्डारीको जिप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यहीबेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चारजना नेपाली सेना आइपुगे । उनीहरुले लाश हेरे । सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेनछ ।

हेरेपछि सेनाहरुले कालो छ, कुनै भारतीय हुनसक्छ भने । लाशलाई बगाउन लागे । हामीले बगाउन दिएनौं । जेठ ४ गते लाशलाई नदी किनारमै छाडेर घर फर्कियौं ।

घरमा बाजेलाई लाश भेट्टाएको बताएँ । बाजेले सायद मदन भण्डारीको लाश होला भन्नुभयो । उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो । तर, पुलिसलाई खबर गर्ने आँट गरिनँ ।

जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुंगाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुवाको भेट भएछ । बुबाले हाम्रा छोराहरुले लाश भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुंगा लिएर लाश भएको ठाउँ पुग्यौं । नभन्दै त्यो लाश नेता मदन भण्डारीको रहेछ ।

डुंगामा लाश हालेर वारि आयौं । जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेकोजस्तो भीड । अनि, पत्रकारहरुले मलाई सोधीखोजी गर्न लागे ।  जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीनजना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे ।

ठूलो मान्छेको लाश भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । अहिले पनि ती घटनाक्रमहरु मेरो आँखाअगाडि घुमिरहन्छ । १८ वर्षको हुँदा लाश भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगें । त्यति ठूलो नेताको लाश भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागिर दिन्छ कि भन्ने लाग्यो । त्यस समयमा सिपाहीको लाश भेटाउने मान्छेले नेपाली सेनामा जागिर खान पाउँथे । कुरा पनि चलाएँ । तर, भएन । अनि, म वैदेशिक रोजगारीका लागि साउदी अरब लागें । १२ वर्ष साउदी बसेर नेपाल फर्किएँ । अहिले विदेशबाट फर्किएको ११ वर्ष भयो । एउटा ट्याक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै लाश भेटाएका किसान ठकुरी नेपालमै छ । श्यामबहादुर थापामगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेसनमा काठमाडौं जाँदा भेट भयो । मलाई अरुले लाश भेटाउने मान्छे यही हो भनेर चिनाइदिए । म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु ।

मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमुना बस्तीकारुपमा विकास गरोस् भन्ने छ । अनि, अहिले नेकपाकै सरकार छ, स्व. मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभएपनि मेरा छोरा–छोरीलाई अवसर दिए हुन्थ्यो भन्ने लाग्छ ।

(रासस समाचारदाता सुरेन कुँवरसँग थापाको कुराकानीमा आधारित)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...