सरोकारवाला मन्त्रालयबाटै योजना आउने भएपछि अर्थ मन्त्रालयमा छैन सांसदको भीड

news

काठमाडौं, जेठ १ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट बनाउन अर्थमन्त्री, अर्थसचिवसहित अर्थ मन्त्रालयका उच्च अधिकारी व्यस्त छन् । बजेट बनाउनकै लागि सुरक्षामासमेत कडाइ गरिएको छ ।

तर, विगतका वर्षहरुमाभन्दा यस वर्ष सांसदहरुको आवत–जावतमा कमी आएका कारण निकै सहज भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

आ–आफ्ना क्षेत्रका योजना बजेटमा पार्न सांसदहरुको भीड नै लाग्ने अर्थ मन्त्रालयमा यसपटक भने सुनसानजस्तै देखिएको छ ।

आफ्नो योजना पार्न सांसद एवं सरोकारवालाहरु अर्थ मन्त्रालयभन्दा सरोकारवाला मन्त्रालयमा पुग्ने गरेका छन् ।

योजनाका लागि सम्बन्धित मन्त्रालयबाटै सिफारिस हुनुपर्ने व्यवस्थाका कारण पनि अर्थ मन्त्रालयमा फाइलको चाङबाहेक व्यक्तिगत भेट र दबाबका लागि कोहीपनि आउने नगरेको स्रोतको भनाइ छ ।

सरोकारवाला मन्त्रालयमार्फत् योजना पठाउनुपर्छ भन्ने थाहा नपाउने केही सांसदमात्रै आउने गरेकाले मन्त्रालयमा खासै भीड नलागेको बताइएको छ । यसले बजेट बनाउन सहज भएको जनाइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नीति तथा कार्यक्रम, १५औं पञ्चवर्षीय योजनालाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते संघीय संसदमा प्रस्तुत् गर्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...