निजीकै तुलनामा सामुदायिक विद्यालयः अभिभावक र विद्यार्थीको रोजाइमा

news

-जितेन्द्र भण्डारी/ईमेज

पाँचथर । पढाइको गुणस्तर न्यून रहेको भन्दै आलोचना खेपिरहेका सामुदायिक विद्यालयहरुप्रति पछिल्लो विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

निजी विद्यालयका तुलनामा विद्यार्थीको चौतर्फी विकासको वातावरण रहेको भन्दै पाँचथरमा पनि विद्यार्थीहरु सामुदायिक विद्यालयातर्फ आकर्षित हुन थालेका हुन् । 

कमजोर नियमन र व्यवस्थापनका कारण शिक्षाको गुणस्तर खस्किएका सरकारी तथा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनेमा आर्थिक अवस्था कमजोर भएकाहरु नै बढी देखिएका छन् ।

सरकारी विद्यालमा वृहत् प्रतिस्पर्धाबाट  छनोट भएका योग्य शिक्षक राखिने भए पनि पढाइ भने ती विद्यालयमा कमजोर देखिन्छ ।

तर पछिल्लो समय केही सामुदायिक विद्यालयले भने निजीका तुलनामा झन् स्तरीय शिक्षा दिएर विद्यार्थी र अभिभावकको मन जित्न मात्र सफल भएका छैनन् अन्य विद्यालयलाई पनि सवक सिकाएका छन् ।

पाँचथरका आधा दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा निजी विद्यालयबाट विद्यार्थी भर्ना भएका छन्  ।

सदरमुकाम फिदिममा रहेको फिदिम माविमा नर्सरीदेखि कक्षा ९ सम्म निजी स्कूलबाट ३ सय १० जना विद्यार्थीहरु भर्ना भएका छन् ।

नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने भएको,र दक्ष शिक्षकहरु बाट पठनपाठन गरिने भएकोले विद्यार्थीको सामुदायिक विद्यालयतर्फ आकर्षण वढेको फिदिम मा.वि.का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश प्रधानाङ्गको भनाइ छ ।

विद्यार्थीको चौतर्फी विकासको वातावरण हुने भएकाले अभिभावक र शिक्षकले सामुदायिक विद्यालय रोज्न थालेका हुन् ।

निजी स्कुलहरुमा बढी रटाउने प्रचलन रहेको तर सरकारीमा  व्यवहारिक ज्ञान पनि सिकाइने भएकाले बोर्डिङ छाडेर आएको विद्यार्थीहरु बताउँछन् ।

विद्यालयको प्रशासनलाई व्यवस्थित बनाएर शिक्षाको गुणस्तरमा ध्यान दिने हो भने सरकारीमा अझ राम्रो पढाइ हुने अवस्था सिर्जना गर्न सकिन्छ ।

फिदिम माविमा मात्रै होइन्, जिल्लाका नवमीडाँडाँको सिद्धदेवी मावि, पञ्चमीको घुर्विसे मावि पंचमी, मेहलबोटेको जयनारायण आर्दश मावि, ओयामको गुप्तेश्वर माविमा पनि निजीबाट विद्यार्थीहरु धमाधम सर्न थालेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...