प्रधानमन्त्रीको दाबी सभामुख र संसदलाई चुनौती

news

सरोज अधिकारी (इमेज)

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २४ गते संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा गैरसंसदीय शब्दावली प्रयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दलले विरोध जनाएर संसद अवरुद्ध गरेपछि सभामुखले ती शब्द रेकर्डबाट हटाउन ‘रुलिङ’ गरेका थिए ।

तर, बुधबार कम्बोडियाबाट स्वदेश फर्कनेक्रममा प्रधानमन्त्रीले आफूले बोलेको शब्द संसदीय अभिलेखबाट नहटाइएको दाबी गर्दै सभामुख र संसदप्रति फेरि अर्को चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले बोलेका शब्द रेकर्डबाट हटाउनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उभिएर संसदमा विरोध जनाइरहँदा वैशाख २४ गते सभामुख कृष्णबहादुर महराले सरकारको चाहनाबमोजिम नै नीति तथा कार्यक्रम पारित गराए ।

त्यसको निकै आलोचना भयो र प्रतिपक्षी दलले वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्रीले प्रयोग गरेका अमर्यादित शब्द नहटाएसम्म बैठक चल्न नदिने अडान लियो ।

कांग्रेसको चेतावनीपछि सभामुख महराले प्रधानमन्त्री तथा सांसदहरुले बोलेका अमर्यादित सबै शब्दावली संसदको अभिलेखबाट हटाउन रुलिङ गरे ।

त्यसदिन प्रधानमन्त्री ओली स्वदेशमा नभएकाले सभामुखले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेर रुलिङ गरेका थिए ।

तर, प्रधानमन्त्री विदेश भ्रमणबाट फर्कंदा–फर्कंदै एअरपोर्टमै सभामुखको रुलिङप्रति असहमति जनाए ।

उनले आफूले गैरसंसदीय शब्द नबोलेको भन्दै सभामुखले आफ्नो नभइ विपक्षी दलका सांसदले बोलेका अभिव्यक्तिमात्र रेकर्डबाट हटाएको दाबी गरे ।

यसले एकातिर संसदको रेकर्डमा रहेको सभामुखको रुलिङ नै झुटो त होइन भन्ने प्रश्न प्रधानमन्त्री ओलीले खडा गरिदिएका छन् भने अर्कोतिर सभामुखको मर्यादामाथि नै प्रश्न उठेको छ ।

संसद नियमावलीकाअनुसार गैरसंसदीय शब्दवाली संसद वा संसदीय समितिका बैठकहरुमा प्रयोग हुँदा रेकर्डबाट हटाउने अधिकार सभामुख वा समितिका सभापतिलाई हुन्छ ।

सोहीबमोजिम सभामुखको रुलिङपछि प्रधानमन्त्री ओलीले बोलेका शब्द पनि संसदले आफ्नो रेकर्डबाट हटाइसकेको छ ।

संसदको कार्यव्यवस्था समितिले यस्ता अमर्यादित शब्द हटाउन अभिलेख शाखालाई पत्राचार गर्ने र अभिलेखबाट त्यस्ता शब्द हटाएर पुनः प्रमाणीकरण गरेर रेकर्ड राख्ने प्रक्रिया पूरा भइसकेको संसद सचिवालय स्रोतको भनाइ छ ।

तर, प्रधानमन्त्री ओलीले भने सार्वजनिकरुपमा नै आफूले बोलेका शब्द नहटेको बताएर फेरि एकपटक आफ्नो प्रतिष्ठा र पदीय मर्यादामा प्रश्न गर्नेहरुका लागि ठाउँ दिएका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...