प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणः उपलब्धि कति ?

news

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, जेठ २ । दक्षिण पूर्वी एसियाको उदाउँदो अर्थतन्त्रकारूपमा रहेको भियतनाम र तीव्रगतिमा आर्थिक विकास गरिरहेको कम्बोडियामा प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणले नेपालको सम्बन्ध मजबुत् हुने विश्वास सरकारको छ । तर, जानकारहरु भने आलोचनात्मक दृष्टिकोण राख्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमणपछि बुधबार स्वदेश फर्किएका छन् ।

भ्रमणका दौरान भियतनाम र नेपालबीचको आर्थिक सम्बन्ध विकसित गर्ने उद्देश्यका साथ दुवै पक्षले व्यापार, लगानी, पर्यटन र हवाई सम्पर्कको क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

भियतनामसँग कूटनीतिक राहदानी र सरकारी राहदानीवाहकहरूलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय संयन्त्र स्थापना गर्ने तथा नेपाल र भियतनामबीच व्यापार एवं लगानी सम्झौता गर्नेसम्बन्धी सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ ।

त्यस्तै, नेपाल र कम्बोडियाबीच विद्यमान बहुआयामिक सम्बन्धलाई थप सुदृढ र मजबुत् बनाउनेमा सहमति भएको छ ।

यसैगरी, बौद्ध धर्मावलम्बीहरूको वर्चस्व रहेका यी मुलुकहरूमा बुद्धको जन्मस्थलको प्रचार गरी पर्यटक भित्र्याउने आशा पनि सरकारको छ ।

सहमतिबमोजिम कार्यान्वयन सुरु भए सरकारका यी कदमको परिणाम कुनै तत्कालै त कुनै भविष्यमा देखिँदै जानेछन् ।

तर, भ्रमणअगाडिको तयारीमा प्रश्न गर्दै परराष्ट्रविद् शम्भुराम सिम्खडा परिणाम देखिने विषयमा शंका व्यक्त गर्छन् ।

उनको तर्क छ, ‘भ्रमण पर्यटक भित्र्याउन र सम्बन्ध सुधारका लागि फलदायी होला ! तर, ठोस तयारीबिना गरिने भ्रमणले अपेक्षाकृत फल दिन सक्दैन ।’

अर्कोतर्फ भियतनाम र कम्बोडियाबाट व्यापारिक लाभ लिने विषयमा पनि सुरुदेखि नै प्रश्न उठिरहेको छ ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा लामो द्वन्द्वपछि आफैं विकसित हुँदै गरेका यी मुलुकहरुबाट नेपालले व्यापारिक लाभ लिने सम्भावना तत्काल न्यून रहेको बताउँछन् ।

यसैगरी, यी मुलुकहरुबाट तत्काल लगानी भित्र्याउने सम्भावना पनि नरहेको उनको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...